बेपत्ता भएको ४ महिनापछि फेला पर्‍यो कंकाल

डिसी नेपाल
४ साउन २०७७ १८:०७

सुर्खेत। चार महिनाअघि बर्दिया राष्ट्रिय निकुञ्जबाट बेपत्ता भएका भनिएका सुर्खेतका एक व्यक्तिको कंकाल फेला परेको छ। सुर्खेतको बराहताल गाउँपालिका वडा नं. १ समशेलीका करिब ३१ बर्षीय शिवराम राना गत फागुन १० गते शिकार खेल्न गएको बेला वेपत्ता भएको प्रहरीमा उजुरी परेको थियो। चार महिनापछि असार १६ गते सुर्खेत प्रहरीले रानाको हात, खुट्टा र टाउकाको हड्डीसहित उनले लगाउने लुगा, झोला, एक थान बन्दुक, हँसिया, खुकुरीसहित केही सामग्री फेला पारेको थियो।

सुर्खेत प्रहरीले आइतवार रानाको कंकाल तथा लत्ताकपडा सार्वजनिक गर्दै वेपत्ता भएको उजुरी परेको चार महिनापछि कंकाल फेला पारिएको जनाएको छ। सुर्खेतका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले मृतक रानाका श्रीमती मनरुपा रानाले आफ्नो श्रीमान शिवराम राना हराएको निवेदन दिएपछि प्रहरीले खोजी गरेको बताए। सोक्रममा असार १६ गते प्रहरी निरीक्षक गोपाल रायमाझीको कमाण्डमा गएको टोलीले बर्दियाको ठाकुरद्वारा नगरपालिका १ पाँडेखोलामा रानाको कंकाल र लत्ताकपडा फेला पारेको बताए। लत्ताकपडाका आधारमा मृतकका श्रीमती र बाबुले शिवराम भएको सनाखत गरेको उनले जनाए।

शिवरामसँगै शिकार खेल्न अन्य दुईजना सोही स्थानका यामबहादुर समशेली र सूर्यबहादुर वली गएका थिए। रानाको कंकाल फेला परेपछि उनको श्रीमती मनरुपाले यामबहादुर र सूर्यबहादुरविरुद्ध कर्तव्य ज्यानको उजुरी दिएको एसपी भट्टले जानकारी दिए। उजुरीपछि उनीहरु दुईजनालाई प्रहरीले नियन्त्रणमा लिइ विस्तृत अनुसन्धान थालेको छ। एसपी भट्टका अनुसार प्रारम्भिक अनुसन्धानमा यामबहादुर र सूर्यबहादुरले शिवरामलाई बाघले मारेको बयान दिएका छन् । तर रानाका श्रीमती मनरुपाले भने यामबहादुर र सूर्यबहादुरले कर्तव्य ज्यान गरेर मारेको भन्दै किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ।

घटनाको प्रारम्भिक अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक गोपाल रायमाझीले रानाको हाड तथा कपडाहरु निकुञ्जको भिरालो झाडीमा फेला परेको बताए। उनले लत्ताकपडा, चप्पल, झोला र हाड केही दुरीमा फेला परेको भन्दै जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *