‘भाग्यको नियति र समाजको कटु बचन नारीलाई भारी कहिलेसम्म ?’

डिसी नेपाल
९ साउन २०७७ १२:३०

काठमाडौं। ‘सानैमा आमाले भन्नुहुन्थ्यो ‘दैवले घात गरेपछि सिउँदो पुछियो।’ मेरा मनमा अनेक प्रश्न उब्जिन्थे। यो दैव कस्तो होला ? कसरी लाग्छ होला? आमाले लाउने सिन्दुर किन र कसरी पुछेको होला? अहिले आफैलाई परेपछि थाहा भयो।’

आखाँमा आशुँ रारा जमाउँदै उनले भनिन्, ‘कलिल उमेरमा सिउँदो पुछियो, दैवले घात ग-यो। दैवले नै घात गरेपछि कस्को के लाग्दो रहेछ ?’ २१ वर्षमात्रै लागेकी प्रतिक्षा (नाम परिवर्तन)ले खाली सिउँदो तिर देखाउँदै भन्छिन्।

तीन वर्ष पहिले प्रदेश नं. ३ बाट प्रेम विबाह गरेर प्रदेश ५ मा पुगिन उनी। सुन्दर भविष्यको परिकल्पना गरि पञ्चेबाजा बजाउँदै, संसार जितेको अनुभव गरी प्रदेश ५ पुगेकी थिइन उनी। यसैपनि प्रेम गरेका जोडिहरु हरेक पल आफ्नो प्रेमिसँग हुँदा स्वर्गको अनुभूति गरेका हुन्छन्।

उनले पनि अनुभूति गरेको स्वर्गको संसार धेरै रहेन। ‘जीवनभर संगै बाँच्ने सँगै मर्ने कसम थियो हाम्रो। यति निष्ठुरी भएर मलाइ एक्लै छोडेर जानुहुन्छ भनेर कल्पनै गरेको थिएन्। भाग्यमानी हुनुनुहन्थ्यो जानु भयो। म अभागीलाई यो संसारमा एक्लै छोडेर।’ आँखामा जमाएको रारा अब फुटिसकेको थियो। वर्षे भेलसरी अविरल आखाँबाट बग्ने आशुँहरुले खतराको सीमा नै पार गरे जस्तो लाग्थ्यो। गला अवरुद्ध हुन्थ्यो बेलाबेलामा उनको।

उनी यो समाजको प्रतिनिधि पात्रमात्र हुन्। उनी झै आखाँमा आशुँको सागर थुनेर समाजका कूदृष्टिलाई पौडी खेलाइरहेका धेरै दिदी बहिनीहरु यो समाजमा छन्। एकल महिला भनेपछि नानाथरीका उपनाम दिने समाजमा प्रतिक्षामात्र हैन हजारौं प्रतिक्षाले हरेक पलमा आफूलाई जिउँदो लास बनाएर बाँचि रहेका छन्।
प्रतिक्षा पनि हरेक पल बहकीन्छिन्, ‘यती ठूलो संसारमा म उहाँ बिना नै जिउनुपर्छ? जिउनै पर्छ र? मैले आत्म निर्णय गर्ने मेरो अधिकार कुनै कानूनमा छ र? छैन होला है।’

‘यो समाजका तिखा बाणहरु छातीमा रोपेर कति दिन जीवित रहनु?’ कोपिला मै ओइलाउन लागेको फूलझै उनको जीवन पनि दिन प्रतिदिन ओइलाईरहेको छ। छैन फक्रिने कुनै छाँट नै छैन। समाजले टुसाउन लागेको हरेकपलमा विधुवा र अलछिनाका बुटहरुले कुल्चि रहेको छ।

‘कक्षा आठमा अध्ययन गर्दैगर्दा मामाघर जाने क्रममा भेट भएको थियो उहाँसँग,’ प्रतिक्षाले सुनाइन्, ‘मेरो तन मन खोसियो मैले पत्तै पाएन। उहाँसँग प्रेमको अमिट मुहान थियो वा मेरो उमेरको असर हो। मैले अहिलेसम्म पत्ता लगाउन सकेकी छैन।’

प्रतिक्षाका आखाँका आशुले एकछिन पनि प्रतिक्षा गर्नै मान्दैनन्। तर, उनको तनले मनले स्वर्गवास भएका श्रीमानको जीवन्त प्रतिक्षा गरिरहेको छ। विर्सने कुनै उपाए नै छैन। ‘हरेक पल उहाँले बोलेकै याद आउँछ। साह्रै मीठो बोल्ने, व्यबहार नि त्यस्तै राम्रो। साह्रै पीडा हुन्छ, धेरै रात नसुती बसेकी छु। कैयौ छाक खान बिर्सेकी छु।’

आफू गर्वमा रहदाँ नै बाबा गुमाएकी प्रतीक्षाको सिन्दुर पुछियो। समाजले लगाउने आरोप र प्राहर गर्ने तिखा बाणहरुलाई धार लगाउने अवसर मिल्यो। आमाको खाली सिउँदो हेरेर अघाएकी प्रतिक्षाले जीवनभर सिउँदोमा सिन्दुर र शरिरलाई रातो कपडाले ढाक्ने रहर रहरमै सीमित रह्यो।

‘श्रीमान नहुनु भएको भन्दा पीडा त मलाई परिवार र समाजले गर्ने व्यबहारले हुन्छ।’ छ–छल्की रहेका अश्रुभेलको बाटो हातले मोड्दै उनले भनिन्, ‘एकल महिलालाई यो समाजमा गरि खान नसक्ने किन सम्झन्छ? सानोमा बाबा, अहिले श्रीमान टोकेको आरोप किन लगाउँछ?’

पीडाले हृदयलाई ढाकिसकेको छ। उज्ज्वल भबिष्यको चिन्ता गर्ने उनको समय वितेका दुखसुख सम्झेर नै जान्छ। उनीसँग भविष्यको कुनै चिन्ता छैन। ‘भविस्यको बारेमा कसरी सोच्नु वर्तमान नै अंगाल्न कठिन परेको छ।’ उनले भनिन्, ‘श्रीमान जीवित रहँदा प्राण भन्दा प्यारो मान्ने उनको परिवारले विर्सेको छ। तिमी बुहारी होइनौ छोरी हौ भन्ने सासु ससुरा टाढिएका छन्।’

‘आखाँमा देखिने सपना सबै आशुँले बगायो।’ उनी भन्छिन्, भगवान पनि कति निष्ठुरी। म कसरी जिउनु?’ सवारी चालक उनका श्रीमानको सवारी दुर्घटनामा मृत्यु भएको थियो। ‘अपरिकक्कताको पनि परिणाम हो।’ उनले भनिन्, ‘यस्तो समय झेल्नुपर्ला भनी कहिल्यौ सोचिन। कहिलेकाँही चाँडै बिबाह गर्नु आफ्नो लागि घातक भएको महशुस हुन्छ।’

‘आफ्नो खुट्टामा उभिएको भए उहाँले छोडेपनी आफ्नो लागि त जिउन सजिलो हुन्थ्यो।’ ९ कक्षा अध्ययन गर्दै भागी बिबाह गरेकी उनलाई अहिले पछुतो भएको छ। आफू सरहको साथीको खुशी देख्दा मेरो पनि त्यस्तै दिन थिए झै लाग्छ। उनले भनिन्, ‘भाग्यको नियति र समाजको कटु बचन नारीलाई भारी कहिलेसम्म?’
पेटमा श्रीमानको प्रेम हुर्किदै छ। ‘आफ्नो नै भविष्यमा अन्धकार औंसीको रातले छाएको छ। यो बच्चालाई भविष्य कसरी दिनु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *