बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने सर्वदलीय बैठकको निर्णय
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको सर्वदलीय बैठकले बजेट शून्यताको अवस्थालाई लम्ब्याउन नहुने निष्कर्षसहित बजेट निर्माण प्रक्रियालाई शीघ्र अगाडि बढाउने निर्णय गरेको हो।
मुख्यमन्त्री खगराज भट्टको समन्वयमा बसेको बैठकले बजेट शून्यताको अवस्था लम्बिँदा प्रदेश सरकारका नियमित कामकाज तथा विकास निर्माणका गतिविधिमा असर परिरहेको भन्दै सबै राजनीतिक असहमति त्यागेर बजेट, नीति तथा कार्यक्रम तत्काल बनाएर अगाडि बढ्ने निर्णय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
सर्वदलीय सहमतिसँगै अब प्रदेश सरकारलाई बजेट निर्माण तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन थप सहज हुने विश्वास गरिएको छ। बैठकमा कांग्रेस प्रदेशसभा संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको विकास, सुशासन र जनताको हितका सवालमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए।
उनले प्रदेश र जनताको हितलाई सर्वोपरी राख्दै संवाद, सहमति र सहकार्यका माध्यमबाट वर्तमान समस्याको समाधान खोज्नु पर्ने र त्यसमा कांग्रेसको साथ रहने स्पष्ट पारे।
नेता शाहले प्रदेशमा देखिएको बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न सरकारलाई आग्रह गरे। त्यसका लागि सत्तापक्ष र प्रतिपक्ष एकैठाउँमा उभिएर संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार बजेट निर्माण र कार्यान्वयनको बाटो खोल्नुपर्नेमा उनको जोड थियो।
सुदूरपश्चिम प्रदेशमा ‘बजेट होलिडे’ को अवस्था रहेको छ। तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभामा पेस गरे पनि गठबन्धन दलमा आएको बेमेलका कारण पारित हुनसकेन। उक्त सरकार विघटनपछि यहाँ एमालेको समर्थनमा गत साउन २९ गते नेपाल कम्युनिष्ट पार्टी प्रदेशसभा संसदीय दलका नेता भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment