निर्वाचन समीक्षामा एमालेभित्र दुई दृष्टिकोण: आवासीय बैठकबाट साझा प्रतिवेदन तयार पार्ने तयारी
काठमाडौं। नेकपा (एमाले)को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठक शुक्रबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको छ। कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकमा समीक्षा प्रतिवेदनका सम्बन्धमा महत्वपूर्ण छलफल भएको छ।
बैठकमा संयोजक थापाले पार्टी महासचिव तथा कार्यदलका सदस्य सचिव शंकर पोखरेलद्वारा तयार पारिएको प्रारम्भिक प्रतिवेदनका साथै आफ्नो तर्फबाट पनि छुट्टै ‘डकुमेन्ट’ पेश गरेका छन्। एकैपटक दुईवटा प्रतिवेदन प्रस्तुत भएपछि कार्यदलका सदस्यहरूलाई दुवै दस्तावेजको गहन अध्ययनका लागि समय उपलब्ध गराइएको छ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विगतका निर्वाचन परिणामको वस्तुनिष्ठ समीक्षा गर्दै पार्टी पुनर्गठनको भावी खाका कोर्न एमालेले यो कार्यदल गठन गरेको हो।
एमालेभित्र चुनावी परिणाम, संगठनात्मक संरचनाको चुस्तता र आगामी राजनीतिक रणनीतिबारे भिन्न–भिन्न दृष्टिकोण रहँदै आएकाले दुवै प्रतिवेदनमा सांगठनिक सुधार र भावी कार्यदिशाका बहुआयमिक विषयहरू समावेश गरिएको बुझिएको छ।
शनिबार बस्ने कार्यदलको आवासीय (आवासीय व्यवस्थापनसहितको निरन्तर) बैठकले दुवै डकुमेन्टमा रहेका सबल पक्षहरूलाई समेटेर एउटै सर्वसम्मत साझा प्रतिवेदन तयार पार्ने रणनीति बनाएको छ।
आवासीय बैठकबाट अन्तिम रूप दिइने उक्त साझा प्रतिवेदनलाई सुरुमा पार्टी सचिवालय बैठकमा र त्यसपछि आगामी असोज ५-७ गते तय भएको केन्द्रीय कमिटीको बैठकमा निर्णायक छलफल तथा निर्णयका लागि पेश गरिनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment