कोरोना संक्रमणको जोखिम बढेको भन्दै आवश्यक सतर्कता अपनाउन चिकित्सकहरूको अपिल

डिसी नेपाल
१७ साउन २०७७ १८:१९

काठमाडौं । चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले कोरोना संक्रमणको जोखिम बढेकोले आमनागरिकले आफ्नो व्यवहारमा परीवर्तन ल्याउनुपर्ने र आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै चिकित्सकहरुले कोरोना संक्रमणको जोखिम बढेकोले सरकारले अहिले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने पनि माग गरेका छन् ।

नागरिक समाजका अगुवासमेत रहेका चिकित्सक डा. सुन्दरमणि दिक्षितले आफूहरुले यसअघि सरकारलाई सावधानी अपनाउन र कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक कदम चाल्न सुझाव दिएको भएपनि सरकारले भारतसँगको सिमा नाका बन्द नगरेको गुनासो पोखे । उनले भने,‘अहिले स्वास्थ्यकर्मीहरु काम छोडेर भागेको भन्ने कुरा आएको छ। तराईमा कोरोना संक्रमण ठूलो मात्रामा देखिएको छ । भारतसँगको सिमा नाका पूर्ण रुपमा बन्द गर्नुपर्छ भनेर हामी धेरैपटक चिच्याऔं । तर, सरकारले हाम्रो कुरै सुनेन ।’

उनले काठमाडौं उपत्यकापनि अहिले कोरोना संक्रमणको भयंकर जोखिममा परेको खतरा औंल्याए । उनले भने,‘काठमाडौं खाल्डो कोरोना संक्रमणको जोखिममा परिसकेको छ । अब हामीले परिणाम देख्दै जान्छौं ।’ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आवश्यक कदम चाल्न नसकेको भन्दै उनले गुनासो पोखे ।

उनले कोरोना संक्रमण रोगमा परिणत हुँदै गएपछि मात्रै कदम चाल्दा ढिलाई हुने भन्दै नेपालमा कोरोनाको जोखिम निम्त्याउने कामपनि सरकारले नै गरेको गम्भीर आरोप लगाए । उनले भने,‘सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक कदम चाल्न सकेन् । पिसिआर टेस्ट जब बढाउनुपर्ने थियो, त्यतिबेला सरकारले परीक्षणको दायरा नै घटायो । हामीले त बारम्बार परीक्षणको दायरा बढाउ भनेर सरकारलाई भनेकै थियौं । तर, सरकार गम्भीर भएन् ।’ उनले पिसिआर परीक्षण गर्नको लागि सरकारलाई केले रोकेको थियो ? भनेर प्रश्नसमेत गरे । उनले भने,‘सरकारसँग पैसा छ, तर खर्च सकिरहेको छैन् ।’ तर, सरकारले जनस्वास्थ्यमा खेलवाड गरेको उनको आरोप छ ।

पछिल्लो समय विभिन्न ठाउँबाट काठमाडौं उपत्यका भित्रिनेको संख्या बढेको र उनीहरुले आवश्यक सतर्कता र नियम नअपनाएको पनि उनको गुनासो छ । उनले भने,‘काठमाडौं उपत्यका भित्रिने नाकाहरु व्यवस्थित् गर्नुपर्छ । काठमाडौं खतरामा छ ।’ डा. दिक्षितले कोरोना परीक्षण गर्दापनि रिपोर्ट दिन ढिलाई गरिरहेकोमा पनि गुनासो पोखे ।

सरकारले कोरोनाबारे दिने गरेको तथ्यांकलाई उनले बेकारको तथ्यांकको संज्ञा दिए । उनले भने,‘रियालिटी अर्कैछ । सरकारको काम भनेको त दुई वटा मात्रै हो, एउटा लकडाउन लगाउने र अर्को लकडाउन खोल्ने । त्योबाहेक सरकारले केही पनि जानेन । सरकारले दुई जिब्रे नीति अख्तियारी गर्यो ।’ उनले दुई तिहाई बहुमतको सरकार देखेर आफूलाई धिक्कार लागेको बताए ।

उनले कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएकोले आम नागरिकले आँफैं सावधानी अपनाउनुपर्नेमा जोड दिए । नियमित मास्क लगाउने, हात धुने अथवा स्यानिटाईजेशन गर्ने, भौतिक दूरी कायम गर्ने (कम्तिमा साँढे चार फुट), ज्वरो अथवा रुघाखोकी लागेमा तुरुन्त चिकित्सकको सम्पर्कमा जानुपर्ने पनि उनले सुझाव दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले नेपालमा कोरोना संक्रमणको बाढी भारतबाट आएको टिप्पणी गरे । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेको र अवस्था अत्यन्तै चिन्ताजनक रहेको उनले खतरा औंल्याए । प्रदेश नम्बर २ मा संक्रमण ‘मेगा आउटब्रेक’ अर्थात लेभल ४ मा पुगेको पनि उनले टिप्पणी गरे ।

सरकारले कोरोना समूदायमा फैलिएको छैन भनेर आम जनसमूदायमा ‘रिस्क’ महशुस गराउन नसकेको पनि उनको गुनासो छ । उनले भने,‘सरकारले कोरोना संक्रमणको खतरा छ है, सचेत हुनुहोस भनेर भनिदिएको भए आज सबैले मानवीय व्यवहारमा परिवर्तन गर्नेथिए ।’

उनले कोरोनाबाट बच्ने उपायमा मुख्य कुरा भनेको मानवीय व्यवहार नै रहेको सुनाए । उनले भने,‘मानवीय व्यवहार नै मुख्य कुरा हो । अर्को भनेको सर्भेलियन्स नै हो । निगरानी बढाउने । परीक्षणको दायरा बढाउनुपर्छ ।’ सरकारले लकडाउन खुकुलो बनाएपछि परीक्षणको दायरा बढाउनुपर्नेथियो भन्ने उनको भनाई छ ।

उनले दैनिक १२ हजारदेखि १५ हजारसम्म पिसिआर परीक्षण गरिनुपर्ने बताए । उनले नेपालम अस्पतालमा बेडको कमि रहेको पनि सुनाए । उनले भने,‘सरकारले बेड बढाउनेतिर ध्यान दिनुपर्नेथियो । हरेक हेल्थपोष्टमा कम्तिमा २५ बेड थप्नुपर्छ ।’

शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि आम नागरिक व्यवस्थित हुनुको विकल्प नभएको बताएका छन् । उनले अहिले लकडाउन खुलेपछि बाहिर निस्किएकाहरुले सावधानी अपनाउनुपर्ने बताए । उनले भने,‘बाहिर निस्किएकाहरुले मास्क लगाउनुपर्छ । रेगुलर हात धुनुपर्छ । फिजिकल डिस्ट्यान्स पालना गरौं ।’

सरुवा रोग विशेषज्ञसमेत रहेका प्रवक्ता डा. बास्तोलाले काठमाडौं उपत्यकामा संक्रिमतहरुको संख्या बढ्न थालेपछि आम मानिस त्रसित बनेको उल्लेख गर्दै सबैले सावधानी अपनाउनुपर्ने बताए । उनले भने,‘संक्रमितहरु जो उपचारमा हुनुहुन्छ, उहाँहरुलाई परिवारका सदस्यहरुले पनि भेट्न पाउँदैनन् । यो ईमोशनलाई पनि सबैले बुझ्नुपर्छ ।’ उनले कोरोनाविरुद्ध लड्ने हो भने सबैले आफ्नो मानवीय व्यवहारलाई परिवर्तन गर्नुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *