९० प्रतिशत जनसङ्ख्यामा पुग्यो विद्युत् पहुँच

डिसी नेपाल
१९ साउन २०७७ १९:३५

काठमाडौं। आर्थिक वर्ष ०७६/७७ मा देशभरका कूल ९० प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको मिहिनेतका कारण ग्रामीण क्षेत्रमा समेत विद्युत् पुगेको हो ।

सो आवमा कूल १४९ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । योसँगै नेपालको कूल जलविद्युत् जडित क्षमता एक हजार ३९९ मेगावाट पुगेको छ । सरकारले कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीसहित केही ठूला आयोजनाको निर्माण गत आवमै सक्ने लक्ष्य राखिएको भए पनि कोरोना महामारीका कारण सम्भव हुन सकेन ।

गत आवमा प्रतिव्यक्ति विद्युत् खपत बढेर २६० किलोवाट घण्टा पुगेको छ । यस्तै सो वर्ष थप तीन लाख ३४ हजार घरधुरीमा विद्युत् पहुँच विस्तार भएको छ । योसँगै नेपालमा विद्युत् पहुँच प्राप्त घरधुरी सङ्ख्या ५० लाख १० हजार पुगेको छ । मन्त्रालयले थप २८५ सर्किट किलोमिटर नयाँ प्रसारण लाइन निर्माणको काम सम्पन्न गरेको छ ।

थपिएको सहित प्रसारण लाइनको लम्बाइ देशभर कूल चार हजार २५१ सर्किट किलोमिटर पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत थप ५० किलोवाट सौर्य तथा वायु ऊर्जा थप भई कूल ८६६ किलोवाट पुगेको छ । यस्तै वर्षभरिमा थप ५२ वटा थप भई संस्थागत तथा सामुदायिक बायोग्यासको सङ्ख्या ४१९ पुगेको छ ।

राष्ट्रिय प्रसारण प्रणालीमार्फत विद्युत् पहुँच प्राप्त जनसङ्ख्यामा तीन प्रतिशतको वृद्धि भई ९० प्रतिशत पुगेको छ । यस्तै, विद्युत् वितरणका लागि २९० वटा नयाँ सब–स्टेसन निर्माण भएका छन् । विद्युत् चुहावटमा पनि उल्लेख्य प्रगति भएको छ । गत आवमा विद्युत् चुहावट १५।२७ प्रतिशतमा सीमित भएको छ । देशभरका १६ जिल्लामा पूर्ण विद्युतीकरण भएको छ ।

बेरुजु फछ्र्यौटमा अब्बल

आव ०७६÷७७ मा ऊर्जातर्फ ९९।९९ र जलस्रोत तथा सिँचाइ मन्त्रालयतर्फ ९५.५९ प्रतिशत बेरुजु फछ्र्यौट भएको छ । ऊर्जातर्फ रु एक अर्ब ३९ करोड ८२ लाख आठ हजार ५२० बेरुजु रहेकामा एक अर्ब ३९ करोड ८० लाख सात हजार ४७० बराबरको बेरुजु फछ्र्यौट भएको छ ।

यस्तै जलस्रोत तथा सिँचाइतर्फ रु ९९ लाख ६६ हजार ३७० बेरुजु रहेकामा ९५ लाख २७ हजार ३०० बराबरकोे बेरुजु फछ्र्यौट भएको छ । यो दुवै मन्त्रालयअन्तर्गतका विभागीय संरचना बाहेकको तथ्याङ्क भएको ऊर्जा मन्त्रालयले जनाएको छ । मन्त्रालयको तेस्रो चौमासिक एवं वार्षिक समीक्षा तथा मन्त्रालयतस्तरीय विकास समस्या समाधान समिति बैठकमा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।

यस्तो छ, वार्षिक प्रगति

ऊर्जा मन्त्रालयको तेस्रो चौमासिकमा वित्तीय प्रगति ७३.२६ र भौतिक प्रगति ७५.३ प्रतिशत रहेको छ । यस्तै जलस्रोत तथा सिँचाइतर्फ सोही अवधिमा भौतिक प्रगति ७१.७९ र वित्तीय प्रगति ७१.६७ प्रतिशत भएको छ । गत आव ऊर्जातर्फको कूल बजेट रु ७५ अर्ब ५३ करोड ४० लाख थियो । जसमध्ये रु ४६ अर्ब ३९ करोड ५२ लाख खर्च भएको छ । जलस्रोत तथा सिँचाइतर्फ रु २४ अर्ब ७८ करोड ७५ लाख बजेटमा रु १४ अर्ब पाँच करोड ४० लाख खर्च भएको छ । यसरी हेर्दा ऊर्जातर्फ वार्षिक प्रगति ६१.४२ र भौतिकतर्फ ७८.३६ प्रतिशत प्रगति देखिएको छ । जलस्रोत तथा सिँचाइतर्फ वार्षिक प्रगति वित्तीयतर्फ ५६.७० र भौतिकतर्फ ७२. ३० प्रतिशत प्रगति रहेको छ ।

मन्त्रालयका अनुसार भौतिक प्रगति ८० प्रतिशत गर्ने आयोजनाको सङ्ख्या आठ र ५० प्रतिशतभन्दा बढी प्रगति गर्ने आयोजनाको सङ्ख्या ११ छन् । यस्तै जलस्रोत तथा सिँचाइतर्फ भौतिक प्रगति ८० प्रतिशत गर्ने आयोजना सङ्ख्या १६ र ५० प्रतिशत प्रगति गर्ने आयोजनाको सङ्ख्या १३ छ । कूल ३३ मध्ये चारवटा आयोजनाको प्रगति ५० प्रतिशतभन्दा कम छ ।

सरकारका २३ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय एक्लैको आठ गौरवका आयोजना छन् । विद्युततर्फ ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काममा ९९.७३ प्रतिशत भौतिक र ९८.६८ प्रतिशत वित्तीय प्रगति भएको छ ।

गत आवमा उक्त आयोजनाका लागि रु एक अर्ब बजेट विनियोजन गरिएकामा शत्प्रतिशत खर्च भएको छ । यस्तै बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने ५८ हजार १५३ रोपनी क्षेत्रफलमध्ये ४७ हजार ४३९ रोपनीको मुआब्जा वितरण भएको छ । मुआब्जाका लागि रु ३३ अर्ब ८० करोड वितरण भएको छ ।

यस्तै सुनकोशी–मरिन डाइभर्सन आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कन प्रतिवेदन स्वीकृत भइसकेको छ । विद्युत्गृहसहित संरचना निर्माणका लागि आवश्यक संरचना निर्माणका लागि जग्गा प्राप्तिको काम सकिएको छ ।

थप साढे पाँच हजार हेक्टरमा सिँचाइ

सो आवमा थप पाँच हजार ५५९ हेक्टरमा सतह सिँचाइमार्फत सिँचाइ सुविधा पुगेको छ । योसँगै सतह सिँचाइ हुने कूल जमीनको क्षेत्रफल नौ लाख ९६ हजार ९१७ हेक्टर पुगेको छ । यस्तै विभिन्न ठूला नदीमा ९१ किलोमिटर तटबन्ध निर्माण भएको छ । बाढीका कारण बगरमा परिणत भएको ४०९ हेक्टर जमीन जग्गा उकास गरी खेतीयोग्य बनाइएको छ ।

मन्त्रालयको प्रगति उत्कृष्ट : मन्त्री पुन

ऊर्जामन्त्री वर्षमान पुनले कोभिड–१९ को महामारीमा समेत मन्त्रालयले उत्कृष्ट काम गरेको भन्दै मातहतका सबै निकायमा कार्यरत कर्मचारीलाई धन्यवाद दिएका छन्। महामारीमा समेत ठूला जलविद्युत् र सिँचाइ आयोजनाका काम नरोकिएको भन्दै उनले त्यसका लागि कर्मचारी, मजदुर तथा निर्माण व्यवसायीप्रति आभार प्रकट गरे।

उनले काममा आइपर्ने कानूनी तथा प्रक्रियागत समस्याबारे आफूलाई समयमै जानकारी गराउन मातहतका निकायलाई निर्देशन दिइएको जानकारी दिए। ऊर्जा सचिव दिनेशकुमार घिमिरे र जलस्रोत तथा सिँचाइ सचिव रवीन्द्रनाथ श्रेष्ठले कोभिड–१९ महामारीको समयमा समेत राम्रो काम गर्न सकिएको भन्दै सन्तोष व्यक्त गरेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *