नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

डिसी नेपाल
१ भदौ २०७७ १०:०५

काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीभित्रको जारी विवादका विषयमा छलफल भइरहेको छ।

शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदललाई पार्टी भित्र देखिएको विवाद समाधानको खाका पेश गर्न कार्यादेश दिइएको छ।स्रोतका अनुसार कार्यदलले आज बस्ने सचिवालय बैठकमा आफ्नो प्रतिवेदन पेश गर्नेछ।

प्रधानमन्त्री केपी ओलीले गत बिहीबार पाँच दिनभित्र पार्टीभित्रको विवाद समाधान भइसक्ने जनाएका थिए। प्रधानमन्त्री ओलीले भनेको पाँच दिन आज पूरा हुँदैछ। यही मेसोमा सचिवालय बैठक बस्न लागेको हो।

यसअघि कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिँदै आएका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले भने कार्यदल गठन सकारात्मक भएपनि पार्टीको कमिटीबाट कार्यदल गठन गर्नुपर्ने भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेब गौतम, महासचिव बिष्णु पौडेल, रक्षामन्त्री ईश्वर पोख्रेल , गृहमन्त्री राम बहादुर थापा र नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठ सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.