देशभर दैनिक ८ जनाको दुर्घटनामा मृत्यु, ट्राफिक प्रहरीको लक्ष्य ‘शून्य दुर्घटना’

डिसी नेपाल
१८ साउन २०८३ १७:३०

काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले सार्वजनिक यातायातलाई यात्रुमैत्री, व्यवसायीमैत्री र कामदारमैत्री बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।

महासंघको सम्मान, पदस्थापना तथा प्रशिक्षणमूलक कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले सवारी दुर्घटनाका विषयमा सार्वजनिक यातायातलाई मात्रै दोष दिने प्रवृत्ति उचित नभएको बताए। उनले दुईपांग्रे तथा अन्य निजी सवारी साधनबाट समेत धेरै दुर्घटना हुने गरेको उल्लेख गर्दै सबै सवारी साधनलाई एउटै दृष्टिले हेर्न नहुने धारणा राखे।

‘दुई पांग्रे र अन्य निजी सवारीबाट पनि धेरै दुर्घटना हुने गरेका छन्। तर सबैलाई एउटै भाँडोमा राखेर सवारी दुर्घटना भनिएको छ। दुर्घटनाको वास्तविक कारण पहिचान गर्न आवश्यक छ,’ उनले भने।

उनले सार्वजनिक यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन व्यवसायी र चालक–सहचालकले अनुशासन पालना गर्नुपर्नेमा जोड दिए। उनका अनुसार अहिले अधिकांश सवारी साधन लेन अनुशासनमा सञ्चालन भइरहेका छन्।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच सहकार्यको आवश्यकता रहेको बताए।

उनले ट्राफिक प्रहरीको मुख्य उद्देश्य सडक दुर्घटनाबाट नागरिकको अकाल मृत्यु रोक्नु र घाइते हुने अवस्था न्यूनीकरण गर्नु रहेको बताए। ‘सडकमा कुनै पनि नागरिकको अनाहकमा ज्यान नजाओस् र कोही घाइते नहोस् भन्ने हाम्रो पहिलो उद्देश्य हो,’ उनले भने।

एसएसपी काफ्लेका अनुसार नेपालभर हाल करिब ६७ लाख सवारी साधन दर्ता भएका छन्। तीमध्ये करिब ६३ लाख सवारी सञ्चालनमा रहेको तथ्यांक रहेको उनले बताए। काठमाडौं उपत्यकामा मात्रै दैनिक २) लाखभन्दा बढी सवारी साधन सञ्चालन हुने गरेको उनको भनाइ छ।

उनका अनुसार उपत्यकामा दैनिक ५) भन्दा बढी सवारी दुर्घटना हुने गरेका छन् भने देशभर दैनिक औसत आठ जनाले सवारी दुर्घटनामा ज्यान गुमाइरहेका छन्। त्यसमध्ये करिब पाँच जनाको मृत्यु काठमाडौं उपत्यकामा हुने गरेको उनले बताए। साथै, दैनिक ५) जनाभन्दा बढी गम्भीर प्रकृतिका दुर्घटनाबाट प्रभावित हुने गरेको उनले उल्लेख गरे।

‘काठमाडौं उपत्यकामा दैनिक पाँच जना र देशभर आठ जनाले सडक दुर्घटनामा ज्यान गुमाइरहेको अवस्था छ। हाम्रो लक्ष्य यसलाई शून्यमा झार्नु हो,’ काफ्लेले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *