काँग्रेसद्वारा राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त

डिसी नेपाल
२ भदौ २०७७ २१:४८

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले सामाजिक सञ्जालमा राष्ट्रकवि घिमिरेको निधनको खबरले मर्माहित भएको उल्लेख गरेका छन्।

राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने उल्लेख गर्दै सभापति देउवाले उनको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि बिदाई लिएको बताएका छन् । यसैगरी काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि नेपाल राष्ट्रका ढुकढुकी, आफ्नो साहित्य सिर्जनाद्वारा नेपाली राष्ट्रिय चेतनालाई जगाउने राष्ट्रकवि घिमिरेको १०१ वर्षको दीर्घ उमेरमा निधन भएकोमा आफू मर्माहत भएको उल्लेख गरेका छन्।

कविवरको निधनबाट राष्ट्रले एउटा महान विभूतिलाई गुमाएको उल्लेख गर्दै नेता पौडेलले उनको अमर आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। राष्ट्रकवि घिमिरेको आज साँझ ५ बजेर ५५ मिनेटमा आफ्नै निवास लैनचौरमा निधन भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.