भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला, ५ हजार १३० अझै सम्पर्कविहीन
काठमाडौं। भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले भदौ २६ गते साँझ ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै फेला परेका शवमा मानव अंगसमेत समावेश गरिएको बताइन्।
उनका अनुसार सबैभन्दा धेरै शव चितवनमा ३ सय ६४ वटा फेला परेका छन्। तनहुँमा ३८ वटा शव फेला परेका छन् भने काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ।
प्राधिकरणका अनुसार बाढीपहिरोपछि अझै ५ हजार १ सय ३० जना सम्पर्कविहीन छन्।
मृतकको पहिचानका लागि डीएनए परीक्षणको काम पनि भइरहेको छ। हालसम्म १ हजार २ सय ८६ शवबाट डीएनए नमुना संकलन गरिएको छ। यस्तै, सम्पर्कविहीन व्यक्तिका आफन्तबाट १ हजार ७ सय ५१ वटा डीएनए नमुना संकलन गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयमार्फत डीएनए नमुना दिन सकिने व्यवस्था गरेको छ। त्यसका लागि दुईवटा फोटो र नाता प्रमाणित हुने कागजातसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ।
प्राधिकरणले प्रभावित जिल्लामा सडक तथा हवाई मार्गमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाउने काम जारी राखेको जनाएको छ। पछिल्लो समय काठमाडौंमा रहेको राहत सामग्री प्रभावित जिल्लामा पठाउने क्रम भने केही घटेको छ।
प्रभावित जिल्लामा तत्कालका लागि राहत सामग्रीको मौज्दात पर्याप्त रहेको जानकारी प्राप्त भएकाले केही सामग्री रोकिएको र आवश्यकता देखिए पुनः पठाइने प्राधिकरणले जनाएको छ।
राहत वितरणलाई पारदर्शी बनाउन प्राधिकरणले ‘सेतु’ एपमा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमार्फत केन्द्रदेखि जिल्ला, स्थानीय तह र वडासम्म कुन दिन कति राहत सामग्री पठाइयो तथा वितरण भयो भन्ने विवरण हेर्न सकिने व्यवस्था गरिएको छ।
विपद्का बेला सामाजिक सञ्जालमा पुराना तथा एआईबाट निर्मित भिडियो प्रयोग गरी भ्रामक सूचना फैलाउने क्रम देखिएको भन्दै सरकारले त्यसविरुद्ध कारबाही अघि बढाएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार सामाजिक सञ्जालमा फैलाइएका १ सय ७३ वटा पोस्टलाई भ्रामक सूचना भन्दै रिपोर्ट गरिएकोमा ८३ वटा हटाइसकिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment