किन मौन छन् पूर्णबहादुर खड्का ?
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिएसँगै नेतृत्वमा पुग्न नेताहरुले दौडधुप सुरु गरेका छन्। नेताहरुले सभापतिका लागि उम्मेद्वारी घोषणा गर्न थालेका छन्।
केही समय अगाडि सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिने उपसभापति बिमलेन्द्र निधिले आफू सभापतिको दाबेदार भएको उल्लेख गर्दै सहयोगका लागि सभापति देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका थिए। तर सभापति देउवा र वरिष्ठ नेता पौडेल आफैं सभापति पदका आकांक्षी हुन्।
वर्तमान सभापति शेरबहादुर देउवा समूहमा देउवालाई चुनौती दिने नेताहरु खासै छैनन्। तर संस्थापन इतर पक्षमा भने सभापतिका आकांक्षी धेरै छन्। पौडेल आफैं सभापतिका आकांक्षी हुन् भने महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंहलगायतका नेताका नेताले सभापतिमा दाबी गरिरहेका छन्।
समकालीन सबै नेताले आगामी महाधिवेशन केन्द्रित गतिविधि सुरु गर्दा वर्तमान महामन्त्री पूर्णबहादुर खड्का भने मौन छन्। उनले खुलेर कुनै समूहको पक्षमा पनि अभिव्यक्ति दिएका छैनन्।
१३ औं महाधिवेशनमा सभापति देउवा समूहका देखिएका खड्का यसअघि पूर्व महामन्त्री खुमबहादुर खड्का पक्षधर नेता हुन्। खुमबहादुर खड्काको निधन भएपछि महामन्त्री खड्कासहितका नेताले सभापति देउवालाई समूहलाई समर्थन गर्दै आएका छन्। तर उनले अन्य नेताको जस्तो खुलेर कुनै पनि समूहको समर्थन गरेका छैनन्।
‘उहाँले दुवै समूहलाई समदूरीमा राखेर व्यवहार गर्नु भएको छ,’ महामन्त्री खड्का निकट मानिने एक केन्द्रीय सदस्यले भने, ‘१४ औं महाधिवेशनमा कुन पक्षको पल्लाभारी हुन्छ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन। यस्तो अवस्थामा कुनै एक पक्षलाई च्याप्दा अप्ठेरो परिस्थिति आउन सक्छ।’
स्वााभवतः महामन्त्री खड्का धेरै बोल्ने नेता होइनन्। उनी सकेसम्म कम बोल्छन् र विवादमा पनि पर्दैनन्। तर महाधिवेशनको मिति नजिकिँदै गर्दा खड्का फेरि महामन्त्री बन्ने दाउमा छन्। त्यसका लागि उनले पर्ख र हेरको नीति लिएको उनी निकट नेताहरुले बताएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment