एक सातादेखि सुनकाे मूल्यमा लगातार गिरावट

डिसी नेपाल
१० भदौ २०७७ १४:१३

काठमाडाैं। नेपाली बजारमा पछिल्लो एक सातादेखि सुनकाे मूल्यमा निरन्तर गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यही भदौ ३ गतेदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ।

गत बुधबार प्रतितोला रु एक लाख ४०० पुगेको छापावाला सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ। एक सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु तीन हजार ६०० ले घटेको छ।

महासङ्घका अनुसार आज पनि छापावाला सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ। बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला र ९६ हजार ३०० तोकिएको छ।

मङ्गलबार छापालावा सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० थियो। यस्तै चाँदी पनि प्रतितोला रु १० ले घटेर तोलाको रु एक हजार ३१० पुगेको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ। पछिल्ला केही महिनादेखि सुनको मूल्यमा उच्च वृद्धि हुँदै आएको थियो।

नेपाली बजारमा गत साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार ५०० र तेजाबी सुनको मूल्य एक लाख तीन हजार पुगेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *