मंगलबार नियमित अन्तर्राष्ट्रिय उडान शुरु हुँदै, को-को आउन पाउँछन् ? के-के छन् शर्त ?

डिसी नेपाल
१४ भदौ २०७७ २१:०४

काठमाडौं। कोरोना महामारीका कारण गएको चैतदेखि रोकिएको नियमित अन्तर्राष्ट्रिय उडान मंगलबार शुरु हुँदैछ। मन्त्रिपरिषदले नियमति, चार्टर्ड र उद्धार गरेर तीन वर्गमा अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरे अनुसार आगामी मंगलबार नियमति उडान शुरु हुन लागेको हो। योबीचमा उद्धार तथा चार्टर्ड उडानहरु भने भइरहेका छन्।

अमेरिका, युरोप, यूएई, मलेसिया, कतार, चीन, अस्ट्रेलिया र थाइल्याण्डबाट नेपाली नागरिक, नेपालस्थित कूटनीतिक नियोगमा कार्यरत कूटनीतिज्ञ तथा कर्मचारी, नेपालमा कार्यरत राष्ट्रसंघीय कर्मचारी, आईएनजीओ र एनजीओका कर्मचारीहरुमात्र नियमित उडानमार्फत नेपाल आउन पाउने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए।

डिसी नेपालको कार्यक्रम प्रवासवाणीमा कुरा गर्दै मन्त्री भट्टराईले पर्यटक तथा नेपाली राहदानी नभएका नेपालीहरु भने तत्कालन नेपाल आउन नपाउने बताए। उनले आगामी दिनमा परिस्थिति हेरेर त्यो विषयमा निर्णय हुने बताए।


तर, यसरी नियमित उडानमाफर्त नेपाल आउनेहरुले केही शर्त भने पुरा गर्नुपर्ने हुन्छ।

सरकारले सिमितरुपमा मात्र अन्तर्राष्ट्रिय नियमित उडान गर्न लागेको हो। मन्त्री भट्टराईले दैनिक ५–६ सय जनामात्र नेपाल आउन पाउने गरी उडान हुने बताए। उनले त्यसरी नेपाल आउनेहरुले कोरोनाको परीक्षण गराएर आउनुपर्ने हुन्छ।

कोरोनाको पीसीआर परीक्षण सहज भएका मुलुकहरुबाट आउनेहरुले कोरोना परीक्षण गराएर आउनुपर्ने हुन्छ। कोरोनाको पीसीआर परीक्षणमा शतप्रतिशत नेगेटिभमात्र बोकेर आएको विमानका यात्रुहरुले होम क्वारेन्टिन बस्न पाउने मन्त्री भट्टराईले बताए। तर, कोरोना परीक्षण र परीक्षण नगरेर मिश्रित यात्रु आएको विमानका सबै यात्रुले भने काठमाडौंमा कम्तिमा ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने उनको भनाई छ।

यसरी होटलमा बस्दा लाग्ने खर्च भने यात्रु स्वयमले व्यहोनुपर्ने छ। यतिमात्र होइन, उनीहरुले काठमाडौंमा क्वारेन्टिनका लागि होटल बुकिंगसमेत गरेर आउनुपर्ने छ। यो शर्त नियमित उडानमार्फत आउनेहरुको हकमा लागू हुनेछ।

चार्टर्ड उडानमार्फत आउनेहरुको हकमा पनि यी शर्तहरु लागु हुनेछन्। तर, निःशुल्क उद्धार हुनेहरुको हकमा भने केही फरक शर्तहरु छन्। उनीहरुको टिकटदेखि क्वारेन्टिनसम्मको खर्च बैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषको रकमबाट बेहोरिने छ।

अथवा विदेशमा अलपत्र परेका नेपाली कामदारहरुको निःशुल्क उद्धारमा लाग्ने सबै खर्च श्रमिकहरुले आफूले व्यहोर्नु पर्ने छैन। तर, यो वर्गमा मलेसिया तथा खाडी मुलुकमा अलपत्र परेकाहरुको हकमा मात्र लागू हुने मन्त्री भट्टराईले बताए।

उनले युरोप, अमेरिका, अस्ट्रेलियामा रहेका नेपालीहरुलाई तत्काल सरकारले निःशुल्क उपचारबारे कुनै निर्णय नगरेको बताए। उनले ती देशहरुमा कोही समस्यामा परेको भए ती देशमा रहेको नेपाली कूटनीतिक नियोगमा सम्पर्क गर्नुपर्ने बताए। धेरै नै समस्या भए सरकारले आवश्यक निर्णय भने लिने उनले बताए। उनले दशैं मान्न नेपाल आउने गैरआवासीय नेपालीहरु बारे पनि अहिले कुनै निर्णय भइनसकेको उनले बताए।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *