घर र मठमन्दिरमा क्षमा पूजा गरी मनाइयो इन्द्रजात्रा, हनुमानढोका सुनसान

डिसी नेपाल
१६ भदौ २०७७ २०:०८

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा हेर्न यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विशिष्ट व्यक्तित्व हनुमानढोका दरबारको गद्दी बैठकमा गएनन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले गरेको सङ्कल्पको पूजा सामग्री ल्याई श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको क्षमा पूजा गरिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए। कोरोनाका कारण जात्रा स्थगित नगरिएको भए राष्ट्राध्यक्षले हनुमानढोकामै आएर श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको पूजा गरी रथयात्रा हेर्ने प्रचलन थियो ।

राजधानीका हजारौँ मानिस हनुमानढोका दरबार क्षेत्रमा उपस्थित भएर मनाइने इन्द्रजात्रा पर्व यस वर्ष घर घरमै वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको पूजा आराधना गरी मनाइएको छ । भाद्र शुक्ल चतुर्दशीका दिनदेखि आश्विन कृष्ण चौँथीका दिनसम्म हनुमानढोका क्षेत्रका टोल टोलमा घुमाइने रथयात्रामा घर घरबाट पूजा सामग्री ल्याई चोक चोकमा पूजा आराधना गरिन्थ्यो । श्रीगणेश, श्रीकुमारी र श्रीभैरवको रथ घुमाइने यात्रा यस वर्ष स्थगित गरेपछि इन्द्रसहित तीनै देवताको पूजा आराधना घर घरमै गरिएको काठमाडौँ महानगरपालिका वडा नं। १९ स्थानीयवासी सुमन खड्गीले बताए । स्थानीयवासीले घर घरमा र इन्द्रजात्रासँग सम्बन्धित मठ मन्दिरका पूजारीले देवस्थलमा क्षमा पूजा गरी यो पर्व मनाएका हुन् ।

कोरोना महामारीका कारण रथयात्रा स्थगित गरेपछि क्षमापूजा गरेर मुख्य दिनको पर्व मनाइएको छ । कोरोनाबाट बच्न रथयात्रा स्थगित गरिएकाले इन्द्रजात्रासँग सम्बन्धित सबै मठ मन्दिरमा क्षमा पूजा गरी मनाइएको संस्थानले जनाएको छ । विसं १८२३ मा इन्द्रजात्राकै अवसर पारेर गोरखाका राजाले काठमाडौँमा आक्रमण गरेको ऐतिहासिक तथ्य छ । त्यस वर्ष समेत इन्द्रजात्राको रथयात्रा रोकिएको थिएन ।

भाद्र शुक्ल चतुर्दशीका दिन आज इन्द्रजात्राको मुख्य दिन हो । यस अवसरमा आज काठमाडौँ उपत्यकामा प्राचीनकालदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ । आजैदेखि वसन्तपुर दरबार क्षेत्रमा कुमारी यात्रा शुरु हुने परम्परा थियो । यस वर्ष भने कोरोनाको महामारीका कारण यो परम्परा रोकिएको छ ।

आजको दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने गरिन्छ । भाद्र शुक्ल पूर्णिमाका दिन भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २१ गते नानीचा यात्रा गराइने विधि पूरा हुने प्राचीनकालदेखिको विधि छ । आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । यस वर्ष भदौ २२ गते बिहानीको ४ः०६ बजे लिङ्गो ढाल्ने साइत निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारी लगायत मन्दिरमा क्षमा पूजा गरिएको संस्थान काठमाडौँ शाखाका प्रमुख सुवेदीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला सुरक्षा समितिको बैठकले पनि जात्रा, चाड पर्व मनाउँदा भीडभाड नगर्ने निर्णय गरेको थियो । यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रासमेत हुन सकेको छैन ।

भाद्र शुक्ल द्वादशी अर्थात् भदौ १४ गते बिहान ७ः०७ बजे नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा इन्द्रध्वजोत्थान नगरिएपछि मानन्धर समूहले इन्द्रध्वजोत्थान गरिने हनुमानढोका दरबार क्षेत्रमा क्षमा पूजा गरेको थियो । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भदौ ३ गते बुधबार रातिदेखि निषेधाज्ञा जारी गरिएपछि यस वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन । समितिले भदौ ४ गते बिहीबार इन्द्रजात्राको लिङ्गो काट्ने साइत राति ९ः२५ बजे को दिएको थियो । अघिल्लो बुधबार रातिदेखि नै काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि लिङ्गो नकाटिएको संस्थानले जनाएको छ ।

इन्द्रजात्रा चलाउन नसकिने भएपछि पूजा आराधना गरिने सम्बन्धित सबै मठ मन्दिरमा क्षमा पूजाको विधि भदौ १४ गतेदेखि शुरु भएको संस्थानका काठमाडौँ शाखा प्रमुख सुवेदीले बताए। इन्द्रजात्रा राजधानीका नेवार समुदायले महत्वका साथ मनाउने गरेका थिए । आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालेपछि राष्ट्राध्यक्षले श्रीकुमारीको दर्शन गर्ने परम्परा पनि यस वर्ष नहुने भएको छ । भदौ २१ गते कुमारी घरबाट राष्ट्रपति कार्यालयमा फूल प्रसाद लगिने कार्यक्रम रहेको संस्थान काठमाडौँ शाखाका प्रमुख सुवेदीले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *