पितृ पक्ष शुरु, गरियो प्रतिपदा श्राद्ध

डिसी नेपाल
१७ भदौ २०७७ २०:४६

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा सम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर पक्ष पनि भनिन्छ ।

चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृ प्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली श्राद्ध जस्ता श्राद्धहरु प्रचलित रहेका छन् ।

यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । सोह्रश्राद्ध अपराह्नमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए। यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण सुनसान बनेका छन् । स्थानीय तहले सूचना जारी गरी भीडभाड नगर्न आह्वान गरेका छन् ।

आफ्नो घरभन्दा बाहिर बसेकाले तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता भएकाले तीर्थमा श्राद्ध गर्न नपाउनेहरु भने प्रभावित हुने देखिएको छ । यसरी प्रभावित हुनेका लागि शास्त्रमा विकल्प दिइएको धर्मशास्त्रविद्को मत छ । कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् ।

यस वर्ष असोज महिनाभर अधिकमास भएकाले आश्विन शुक्लपञ्चमी कात्तिक ५ गते बुधबार पर्छ । भदौको पितृपक्ष अर्थात् सोह्र श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न शास्त्रसम्मत् हुने नले सुनाए । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । यो विकल्प अहिले कोरोनाका कारण सृजना भएको जस्तै परिस्थितिका लागि दिइएको हो ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् भट्टराईले जानकारी गराए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना नेपालमा पनि यसले महामारीको स्वरुप ग्रहण गर्न थालेको छ । यसबाट बच्न गत चैतदेखि बन्दाबन्दी, निषेधाज्ञालगायत विधि अपनाइएको छ । श्राद्धका लागि कर्ता (गर्ने मानिस), ब्राह्मण (गराउन जान्ने मानिस) र श्राद्ध सामग्रीको आवश्यकता पर्दछ ।

कतिपय स्थानीय तहले भने कोरोनाका कारण यस वर्ष भर्चुअल रुपमा श्राद्ध गराउन पुरोहितहरुलाई आह्वान गरेका छन् । धर्मशास्त्रविद्हरु भने विद्युतीय माध्यमबाट गराइने सोह्रश्राद्ध शास्त्रसम्मत नहुने बताउँछन् । यजमानले श्राद्ध विधि जान्ने भएमात्र विद्युतीय विधिबाट सम्भव हुने नत्र अन्य विधि अपनाउनुपर्ने उहाँहरुको भनाइ छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ शुरु हुने भए पनि यस वर्ष अधिकमासका कारण एक महिनापछिमात्र शुरु हुन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *