कास्कीमा निषेधाज्ञा एक हप्ता थपियो

डिसी नेपाल
२० भदौ २०७७ ८:२३

कास्की । कोरोना भाईरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो । यस अघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिदै थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जारी गरेको आदेश अनुसार अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा मानिसले अनिवार्य रुपमा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ । मानिसले बाहिर निस्कदा मास्कको प्रयोग गर्ने, दुई मिटरको भौतिक दूरी कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्नेलगायतका व्यवस्थासहितको आदेश जारी गरिएको छ।

सार्वजनिक सवारी साधन सञ्चालन गर्न निषेध गर्दै प्रशासनले जिल्लाभर जोर गते जोर र विजोर गते विजोर नम्बरका टयाक्सी तथा निजी सवारी साधन विहान ६ः०० बजे देखि साँझ ८ः०० बजे सम्म सञ्चालन गर्न सकिने जनाएको छ । शैक्षिक लगायतका सार्वजनिक भेला र भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ भने तोकिएको मापदण्डमा कार्यालय सञ्चालन गर्नुपर्नेछ । कामदार तथा सेवाप्रवाहलाई सुरक्षित बनाई सबै प्रकारका निर्माण कार्य तथा उद्योग सञ्चालन गर्न सकिने आदेशमा भनिएको छ । आंशिक रुपमा खुल्ने होटल तथा रेष्टुरेण्टले खाद्य बस्तु लिएर घर लैजान सक्ने गरी मात्र साँझ ७।०० बजेसम्म सञ्चालन गर्न अनुमति पाएका छन्।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *