निषेधाज्ञा खुकुलो पार्न प्रधानमन्त्रीलाई व्यवसायीको आग्रह

डिसी नेपाल
२१ भदौ २०७७ २२:०१

काठमाडौं। निजी क्षेत्रका उद्योगी तथा व्यवसायीले निषेधाज्ञा खुकुलो पार्दै अर्थतन्त्रलाई चलायामान बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

निजी क्षेत्रका प्रतिनिधि र प्रधानमन्त्रीबीच आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा व्यवसायीहरुले कोभिड–१९ को नाममा लामो समय आर्थिक क्रियाकलाप ठप्प हुँदा देशलाई ठूलो घाटा पुगेको बताए। उनीहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आर्थिक क्रियाकलापलाई निरन्तरता दिनुको विकल्प नभएको बताए।

प्रधानमन्त्री ओलीले कोभिड–१९ले अर्थतन्त्रमा पारेको असर र चाल्नुपर्ने कदमबारे सुझाव दिन निजी क्षेत्रका व्यवसायीलाई बालुवाटार बोलाएका थिए।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोर र उपाध्यक्ष हरिभक्त शर्मालगायतले सुझाव दिएका थिए।

व्यवसायीसँग प्रधानमन्त्री ओलीले कोभिडबाट पर्ने असर कसरी न्यून गर्दै जाने, अर्थतन्त्रलाई कसरी अगाडि बढाउने विषयमा सुझाव मागेको चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्रीको प्रश्नको जवाफमा व्यवसायीहरुले कोभिड महामारी लामो समयसम्म जाने देखिएकाले योसँग जुध्दै अर्थतन्त्रलाई चलायामान बनाउन सुझाव दिएको अध्यक्ष श्रेष्ठले बताए।

उद्योगीको सुझावपछि प्रधानमन्त्री ओलीले निषेधाज्ञामा पनि उद्योग व्यवसायलाई काम गर्न सहज बनाइने आश्वासन दिए। उनले सरकार कर असुलीमामात्र केन्द्रित नभएको भन्दै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने हिसावले काम गर्नुपर्ने बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *