गृहमन्त्री गुरुङद्वारा सुरक्षा व्यवस्थाबारे जानकारी
मोरङ । गृहमन्त्री सुधन गुरुङले आज विराटनगरमा नेपाल–भारत सीमा सुरक्षाको अवस्था, प्रहरीको भौतिक पूर्वाधार, प्रशासनिक सेवा प्रवाह र सीमावर्ती क्षेत्रको वस्तुस्थितिबारे प्रत्यक्ष जानकारी लिएका छन्।
जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगरको रानीस्थित जोगवनी सीमा नाका, विराटनगर भन्सार कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको स्थलगत निरीक्षणसहित उनले सुरक्षा अधिकारीहरूसँग छलफल गरेका हुन्।
गृहमन्त्री गुरुङ जिल्ला प्रशासन कार्यालय मोरङको नवनिर्मित भवन निरीक्षणका एवं अवलोकन गर्नुका साथै प्रजिअ युवराज कटेलसँग जिल्लाको समग्र प्रशासनिक अवस्था, सेवा प्रवाह र सुरक्षा अवस्थाका बारेमा जानकारी लिए। उनले परिसरबाट एकीकृत सेवा सञ्चालन गर्न सकिने सुझाव दिए।
यसैगरी, उनले प्रदेशस्तरीय सुरक्षा अधिकारीहरूसँग सीमा सुरक्षा, अपराध नियन्त्रण, प्रहरी परिचालन तथा समसामयिक सुरक्षा अवस्थाका बारेमा जानकारी दिए। गृहमन्त्री गुरुङले विराटनगर रानीस्थित नेपाल–भारत सीमा नाकाको सुरक्षा व्यवस्था, आवतजावत, निगरानी प्रणाली तथा सम्भावित चोरी तस्करी नियन्त्रणको उपायका विषयमा सम्बन्धित अधिकारीसँग छलफल गरेका थिए।
गृहमन्त्री गुरुङ विराटनगर भन्सार कार्यालयअन्तर्गतको एकीकृत जाँच चौकी (आइसिपी)को निरीक्षण गरे। उनले भन्सार क्षेत्रमा भइरहेको गतिविधि, सुरक्षा व्यवस्थापन तथा राजस्वसँग सम्बन्धित विषयमा जानकारी लिँदै सीमाबाट हुने अवैध कारोबार नियन्त्रणमा प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखे। उनले प्रहरी हिरासत, प्रहरी बस्ने तथा सुत्ने ब्यारेक र अन्य भौतिक संरचनाको स्थलगत निरीक्षण गर्दै आवश्यक व्यवस्थापनका गर्न निर्देशन दिए।
गृहमन्त्री आज मोरङको निरीक्षणपश्चात् सुनसरी जिल्ला गएका छन्।






डिसी नेपाल





Facebook Comment