स्वदेश फर्कन नपाएपछि साउदीमा नेपाली आक्रोशित, प्रधानमन्त्रीविरुद्ध नाराबाजी

बिनेश खनाल
२३ भदौ २०७७ १७:४२

काठमाडौं। स्वदेश फर्कन नपाएपछि साउदी अरबमा अलपत्र परेका नेपालीहरुले नेपाल सरकारप्रति आक्रोश पोखेका छन्। लामो समयदेखि रोजगार गुमाएर आम्दानीविहीन भएर अलपत्र हुँदा पनि नेपाल नफर्काएको भन्दै उनीहरुले साउदीस्थित दूतावास र नेपाल सरकारविरुद्ध चर्को नारावाजी गरेका छन्।

रियादमा रहेको सामास्को नामक एक सप्लाई कम्पनीमा कार्यररत उनीहरुमध्ये कतिपय बिगत ७ महिनादेखि बेरोजगार छन्। साउदीमा कोरोनाको संक्रमण बढेसँगै कम्पनीका साइट ठप्प हुँदा उनीहरुले रोजगार गुमाएका थिए। एक नेपालीका अनुसार उक्त कम्पनीमा करिब १३ सय नेपाली कार्यररत छन्। तीमध्ये करिब १ हजारको हाराहारीमा पुरुष छन् भने ३ सय जति महिला कामदार हुन्। उनीहरुमध्ये कतिपयको भिसाको म्यादसमेत सकिसकेको छ।

‘एक हजार जति नेपाली दाजुभाइ यो कम्पनीमा छन्। यहाँ महिला कामदार पनि छन्। ३ सयभन्दा बढी महिला कामदार रहेको भन्ने सुनिन्छ। तर, पुरुष र महिलाहरुको बास्थान अलग–अलग भएको हुँदा त्यत्ति राम्रोसँग हामीलाई थाहा छैन। उहाँहरुको पनि हाम्रो जस्तै समस्या हो,’ उनले भने। आफूहरु काठमाडौंमा रहेको अञ्जुलीमा ओभरसिजबाट साउदी गएको उनले बताए।

अहिले उनीहरु ठूलो संख्यामा एउटै हलमा बस्न बाध्य छन्। रोजगारी गुमेपछि आफूहरुलाई नेपाल फर्काइदिन बारम्बार आग्रह गर्दा कम्पनीले दूतावासलाई देखाउने र दूतावासले कम्पनीलाई देखाउने गरेको उनीहरुको गुनासो छ। कम्पनीमा आफूहरुलाई फर्काउन आग्रह गर्दा टिकट वापतको रकम आफूहरुले दूतावासलाई बैंकमार्फत भुक्तानी गर्न खोजेको तर दूतावासले नगद नै जम्मा गर्न भनेको उनीहरुको आरोप छ।

‘काम नभएपछि हामीले बारम्बार कम्पनीलाई नेपाल पठाइदिन आग्रह गरेका थियौँ। कम्पनीले दूतावासलाई भनेर हामीहरुलाई नेपाल पठाइदिने भनेको थियो। कम्पनीले हामीहरुको टिकट खरिद गर्न दूतावासलाई खर्च उपलब्ध गराउँछु भन्दा दूतावासले वाधा पुर्याएको भन्छ। दूतावासमा भन्दा कम्पनीले खातामा टिकट वापतको पैसा जम्मा नगरेको भन्छ,’ एक नेपाली युवाले भने।

आफूहरुलाई नेपाल फर्काउन माग गर्दै उनीहरुले आइतबार कम्पनी परिसरमै नारावाजी गरेका हन्। नारावाजी गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनीहरुले रियादस्थित नेपाली दूतावास तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश पोख्दै चर्को नाराबाजी गरेका छन्।

के भन्छ रियादस्थित नेपाली दूतावास ?

सामाजिक सञ्जालमा भाइरल भइरहेको नारावाजी गरेको भिडियो बारेमा डिसी नेपालले रियादस्थित नेपाली दूतावासलाई सोधेको थियो। साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भनेको समयमा नेपाल फर्किन नपाउँदा उनीहरु आक्रोशित भएको बताए।

‘सामास्को कम्पनी उत्पादनमुलक कम्पनी नभइ कामदार आपूर्ती गर्ने एक सप्लाई कम्पनी हो। जहाँ हजारौँ नेपालीहरु कार्यररत रहेको अनुमान छ। कोरोनाको कारण त्यहाँ १ हजारभन्दा बढी नेपालीहरुले रोजगारी गुमाएका छन्। विशेष गरी सेवा क्षेत्रमा कार्यरत नेपालीले रोजगारी गुमाएका छन्,’ राजदूत राजपुतले रियादबाट डिसी नेपालसँग टेलिफोनमा भने, ‘रोजगारी गुमाएपछि उनीहरुको स्वदेश फर्किनु पर्ने बाध्यता छ। कम्पनीले टिकट उपलब्ध गराउने भनेको थियो। दूतावासकै समन्वयमा उहाँहरुमध्ये केहीलाई आरए (नेपाल एयरलाइन्स) को उडानबाट मंगलबार (८ सेप्टेम्बर) नेपाल फर्काउने तयारी थियो। तर, कम्पनीले एयरलाइन्सलाई समयमै खातामा पैसा जम्मा नगरिदिँदा उडान सम्भव भएन। उड्ने तयारीमा बसेको बेला उडान नहुँदा आक्रोशित हुनुभएको हुनुपर्छ।’ समयमै कम्पनीबाट नेपाल एयरलाइन्सलाई पैसा ट्रान्सफर नहुँदा समस्या आएको उनले बताए।

राजदूत राजपुतले उनीहरुले बाहिर रोडमा निक्लेर नभइ कम्पनी परिसरमै आक्रोश व्यक्त गरेको बताए। दूतावास पीडितहरुको समस्या समाधानका लागि निरन्तर लागिरहेको उनको भनाइ छ।

उनका अनुसार अब १८ सेप्टेम्बरमा नेपाल एयरलाइन्समा उक्त कम्पनीका २८० जनालाई नेपाल पठाइनेछ। ‘कम्पनीसँग हाम्रो छलफल चलिरहेको छ। अब १८ तारिख हुने आरएको अर्काे उडानमा सोही कम्पनीका मात्रै नेपाली पठाउने योजना छ।’ बाँकी रहेकाहरुलाई पनि प्रथामिकताका आधारमा क्र:मश पठाइने उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *