भारतीय शैक्षिक संस्थाले गैरकानुनी रुपमा विद्यार्थी भर्ना लिएकोप्रति ईक्यानको आपत्ति
काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले भारतीय शैक्षिक संस्थाहरुले सामाजिक सञ्जालमार्फत, अनौपचारिक वा व्यक्तिगत सम्पर्कका आधारमा गैरकानुनी रुपले विद्यार्थी भर्ना लिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
कोरोना महामारीको कठिन परिस्थिति हुँदाहुँदै पनि भारतस्थित केहि शैक्षिक संस्था, कलेज र तिनका प्रतिनिधिहरुले सामाजीक सञ्जाल लगायतका माध्यमबाट, नेपाली परामर्शदाताहरुलाई अनौपचारीक सम्वन्ध सम्पर्कमा लिंदै तथा व्यक्तिगत सम्पर्कको आधारमा समेत सिधा भर्ना तथा छात्रवृत्ति लगायतको प्रलोभनपूर्ण क्रियाकलापहरु सञ्चालन गरिरहेकाले त्यस्तो प्रलोभनमा नपर्न अभिभावक तथा विद्यार्थीलाई ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले आग्रह गरेका छन् ।
यस्ता कृयाकलापहरु नेपालमा प्रचलित ऐन कानून तथा नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा जारी गरिएको शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्वन्धी निर्देशिका २०७२ का विरुद्ध रहेको ईक्यानले जनाएको छ।
‘हाम्रो तर्फबाट यस्ता गैह्र कानूनी कृयाकलापमा संलग्न नहुन, नेपाल सरकार शिक्षा मन्त्रालयको स्विकृति एवम् प्रचलित ऐन कानून र निर्देशिकाको व्यवस्था भन्दा बाहिर गएर नेपाली विद्यार्थीहरुलाई भर्ना तथा छात्रवृत्ति लगायतका सुविधाको प्रलोभन नदेखाउन, त्यस्ता भ्रामक विज्ञापन प्रकाशित र प्रशारित नगर्न समेत सम्वन्धित सबैमा आग्रह गर्दछौं’ ईक्यानका महासचिव दिपकराज भुसालद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।
गैरकानूनी रुपमा विद्यार्थीलाई प्रलोभनमा पारेर भर्ना लिने शैक्षिक संस्थाहरुलाई आवश्यक कानूनी कारबाहीका लागि ईक्यानले शिक्षा मन्त्रालयलाई समेत आग्रह गरेको छ । महामारीका बेला विभिन्न माध्यमबाट भर्ना लिने प्रलोभनपुर्ण कार्यहरु गैरकानूनी भएकोले यस्ता कृयाकलापबाट सचेत रहन पनि ईक्यानले विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेको हो ।
त्यस्ता गैरकानूनी रुपमा विज्ञापन तथा विद्यार्थी भर्ना सम्वन्धी कृयाकलापहरु बन्द गर्न सरकारले तत्कालै कानूनी कारबाही अघि बढाउन मातहतका निकायलाई अनुरोध गरिएको विज्ञप्तीमा उल्लेख छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment