आकाशबाट बाकसमा नआए…
बागलुङ। ‘आकाशबाट बाकसमा नआए
ढोका खोल भन्नेछु म आए’ (पुरुष)
‘घरै धराप छ पहिरो खसेर
बाली खायो सलह पसेर’ (महिला)
यी शब्द लोकगायक विष्णु खत्रीको दशैँ गीत ‘रिनै रिनको’का हुन्। गीतमा प्रवासी नेपाली र तिनका आश्रित परिवारको दुःख, पीडा अभिव्यक्त छ। श्रीमान्ले दशैँमा घर आउने दिनको ठेगान छैन भन्छन्। श्रीमतीलाई जीवनसाथी नभएको गाउँघर शून्य लाग्छ।
श्रीमान् भन्छन्– के दशैँ मान्छ्यौ र रिनै रिनको
मेरो केही भर छैन आउने दिनको…
श्रीमती भन्छिन्– के दशैँ मानौ र रिनै रिनको
शून्य छ गामवेशी तिमी बिनाको…
कोरोना महामारीका कारण कमाइ गुमेको छ। दशैँ खर्च पठाउन सक्ने स्थिति छैन। यता श्रीमतीलाई बालबच्चा र घर धान्न गाह्रो छ। परदेशी कहिले आउँछन् भनेर बाटो कुर्न विवश छिन्।
भन्छिन्– चर्न गाको गाई गोठमा फर्कन्छ
साँझपख झनै मन चर्कन्छ…
श्रीमान् आफैसँग गुनासो गर्छन्–
बाउ त बने बाउ जस्तो भैन म
हेर्नै छाडेँ आफ्नो मुख ऐनामा…
चाडबाडमा पनि परिवारको मन दुःखाएकामा उनी पछुतो मान्छन्। परदेशी हुनुको विवशता स्वीकार्छन् । गीतको सवालजवाफ अघि बढ्छ। आखिरीमा श्रीमती पुकारा गर्छिन्–
मर्न पाए तिम्रो मुख हेरी
छोड्थ्यो कि त सुसाउन सल्लेरी
रिनै रिनको…
गीत टुङ्गिन्छ। गत आइतबार खत्रीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतको म्युजिक भिडियोले युट्युबमा हालसम्म तीन लाखभन्दा बढी भ्युज बटुलेको छ। गीतमा खत्री र गायिका पूर्णकला बिसीको स्वर छ । रचना र सङ्गीत पनि गायक खत्रीकै छ।
सुमधुर क्रियशनद्वारा उत्पादित गीतको म्युजिक भिडियोमा कलाकार ओवी रायमाझी र सारिका केसीको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन कपिल लामाले गरेका छन्। मन छुने शब्द, स्वर, मौलिक भाका र ग्रामीण परिवेश झल्काउने भिडियोका कारण गीतलाई स्रोता÷दर्शकले रुचाएका छन्।
लोकगायक खत्रीका यसअघि ‘सुनको जलप’, ‘दशैँ तिहार सँगै मनाउँला’, ‘दशैँमा आउ प्यारा’, ‘कति रुनी हो’ लगायत दर्जनभन्दा बढी दशैँ गीत सार्वजनिक भएका छन्। बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका उहाँ दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय छन्। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment