सिन्धुपाल्चाेक पहिराे : मृतकको सङ्ख्या १३, बेपत्ता १८ को खोजी जारी

डिसी नेपाल
२९ भदौ २०७७ १३:५३

चाैतारा। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ।

शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा आज बिहान थप दुई जनाको शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।

उनका अनुसार आज बिहान २२ वर्षीय कुमार विक र २१ वर्षीया सोनिया विक को शव फेला परेको थियो। अझै १८ जना बेपत्ता छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट तीन वटा टोली बनाइ नेवार टोल, लामा टोल र विक टोलमा उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए।

जिल्ला विपद् व्यवस्थापन समितिबाट पीडित परिवारका लागि त्रिपाल, टेन्ट, कम्बल, किट तथा भाँडाकुँडा पठाइसकेको र खाद्यान्नका लागि बाह्रबिसे नगरपालिकाबाट व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

विस्थापित ५८ परिवारलाई हिजो नै सुरक्षित स्थानमा राखिएको छ। पहिराबाट २२ घर पूर्णरुपमा क्षति भई ३१ जना बेपत्ता भएका थिए। आंशिकरुपमा क्षति भएका घरको लगत सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी बाह्रबिसे– ७ घुम्थाङमा पहिरो जाँदा पुरिएका बेपत्तामध्ये थप दुई जनाको शव भेटिएको छ। आज घुम्थाङ भिरखर्कका २२ वर्षका कुमार विक र २१ वर्षकी सोनिका विकको शव भेटिएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।

योसँगै ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ। अरु बेपत्ता १८ जनाको खोजी भइरहेको छ। शनिबार राति गएको पहिराले बाह्रबिसे नगरपालिका– ७ को घुम्थाङ भिरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन्। सुरक्षाकर्मी र स्थानीय बासिन्दा खोजीमा जुटेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *