मलाइ लोडसेडिङ अन्त्य गर्ने जिम्मेवारी दिइएको थियो, मैले पूरा गरेँ : कुलमान

डिसी नेपाल
३० भदौ २०७७ १७:४१

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेका कुलमान घिसिङलाई मंगलबार प्राधिकरणमा औपचारिक विदाई गरियो। उनको ४ वर्षे कार्यकाल गएको आइतार सकिएको थियो।

जनस्तरबाट उनलाई फेरि कार्यकारी निर्देशकमा नियुक्त गर्न आवाज उठे पनि सरकारले भने कसैलाई पनि हालसम्म नयाँ कार्यकायी निर्देशक नियुक्त गरेको छैन। मंगलबार प्राधिकरणमा आफ्नो विदाइमा आयोजित कार्यक्रममा घिसिङले मन्तव्य दिँदै आफूले पाएको जिम्मेवारी पुरा गरेको बताए। उनले आफू २०७३ मा कार्यकारी निर्देशकमा नियुक्त हुँदा वर्षामा ६ देखि ८ घण्टा लोडसेडिङ रहेको र हिउँदोमा १४ घण्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरिएको भन्दै आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य गरेर देशलाई अन्धकारबाटर मुक्त गरेको बताए।

उनले प्राधिकरणको आर्थिक अवस्था सुधार गर्नुपर्ने आफ्नो अर्को जिम्मेवारी रहेको भन्दै सो जिम्मेवारी पनि पुरा गरेको बताए। उनले भने, ‘प्राधिकरणको वित्तीय अवस्था अत्यन्त नाजुक थियो। प्राधिकरणको आव २०७२–०७३ सम्ममा संचित घाटा रु।३४ अर्ब ६१ करोड पुगेको थियो भने सोही वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानी थियो। एकातर्फ कहालिलाग्दो अँध्यारोले मुलुक अक्रान्त थियो भने अर्कोतर्फ प्राधिकरणको घाटाको ग्राफ बढ्दो क्रममा थियो। प्रणालीमा वार्षिक विद्युत् चुहावट २५.७८ प्रतिशत थियो, करिब ६३ प्रतिशत जनता मात्रै ग्रीडको विद्युत पहुँचमा थिए। सरकारले मलाई दिएको मुख्य जिम्मेवारी पनि लोडसेडिङको अत्य गरी अँध्यारो युगलाई उज्यालो बनाउने र प्राधिकरणको सुधार गर्ने नै थियो।’

उनले स्मरण गरे, ‘वर्षभरीमा सबैभन्दा बढी विद्युत माग हुने तिहारको लक्ष्मीपूजाका दिन कुशल व्यवस्थापन एवं प्रभावकारी प्रणाली संचालनमार्फत परीक्षणको रुपमा मुलकभरी निरन्तर विद्युत आपूर्ति गर्न सफल भयौं। २०७३ को लक्ष्मीपूजाको दिन लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो बनाउने प्रस्थान विन्दु थियो। लक्ष्मी पूजाका दिन हासिल भएको सफलताले हामीलाई थप हौसला प्रदान गर्‍यो।’

उनले वैशाख २०७५ देखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरी मुलुकबाट लोडसेडिङलाई इतिहासमा बिलय गराइदिएको बताए। उनले भने, ‘सम्माननीय प्रधानमन्त्री, माननीय ऊर्जा मन्त्री, ऊर्जा सचिव, प्राधिकरण संचालक समितिका सदस्यहरु, राजनीतिक तथा प्रशासनिक नेतृत्व, कर्मचारी र आमउपभोक्ताको साथ र सहयोगमा नै सम्झदै कहालीलाग्ने त्यो अँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग सुरुवात गर्न सफल भएका छौं।’

उनले विद्युत् माग र आपूर्तिबीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापन र इमान्दार प्रयासबाट मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल भएको बताए।

घिसिङले आफ्नो कार्यकालमा प्राधिकरणको आर्थिक अवस्था पनि सुधार गर्ने जिम्मेवारी दिइएको भन्दै त्यसलाई पुरा गर्न अहोरात्र खटेको बताए। उनले भने, ‘मैले जिम्मेवारी सम्हालेको पहिलो आर्थिक वर्षमा प्राधिकरण १ अर्ब ४७ करोड खुद नाफा कमाउन सफल भयो, त्यसपछिका वर्षहरुमा नाफाको ग्राफ उकालो लाग्दै गयो। दोश्रो वर्ष २ अर्व ८५ करोड, तेश्रो वर्ष ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमायो, चौथो वषमा नाफा बढेर ११अर्व ५ करोड रुपैयाँ पुगेको छ। कुनै वेला कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नु पर्ने अवस्थामा पुगेको प्राधिकरण संचालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये दुई वर्षदेखि सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेर गौरबपूर्ण इतिहास बनाउन सफल भएको छ। चालु आवको वजेटमा प्राधिकरणको नाफा रु ११ अर्वभन्दा बढी रहने प्रक्षेपण गरिएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *