हवाइ उडानमा अत्यन्तै छिटो फैलिन्छ कोरोनाभाइरस, १ महिलाबाट १५ जना संक्रमित

डिसी नेपाल
४ असोज २०७७ १४:३४

काठमाडौं। हवाइ उडानका क्रममा कोरोनाभाइरस अत्यन्तै छिटो फैलिने खुलासा भएको छ । हवाइ उडानमा संक्रमणको प्रसारका विषयमा खरिएका २ अध्ययनमा निकै आश्चर्यजनक खुलासा भएका छन् । शुक्रबार प्रकाशित अध्ययनको रिपोर्टअनुसार बेलायतको लण्डनबाट भियतनामको हनोइ जाने क्रममा एक जहाजमा एक संक्रमित महिलाबाट १५ जना संक्रमित भएको पाइएका छन् ।

सीएनएनमा प्रकाशित रिपोर्टअनुसार घटना १ अप्रिलको हो । घाँटीमा समस्या र खोकी लागेकी एक महिला लण्डनबाट उडेकी थिइन् । उनी लण्डनबाट आफ्नो घर भियतनाम जाँदै थिइन् । १० घण्टापछि त्यो जहाज अवतरण गर्दासम्म उनीबाट अन्य १५ जना संक्रमित भइसकेका थिए । हनोइको नेशनल इन्स्टिच्युट अफ हाइजिनका अनुसन्धानकर्ताहरुले यो घटनामा अध्ययन गरेका हुन् ।

यस्तै अर्को एक घटना बोस्टनबाट हङकङ जाने उडानको हो । यो उडानमा कोरोनाबाट संक्रमित जोडी थिए । यस क्रममा दुई जना फ्लाइट अटेन्डेन्ट संक्रमित भएका थिए । यी दुवै घटना महामारीको सुरुवाती दिनका हुन् जतिबेला एयरलाइन्सहरुले मास्क अनिवार्य गरिसकेका थिएनन् । लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका डेब्रोराह वाटसन जोन्सले अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको जर्नलमा यससम्बन्धी अध्ययन प्रकाशित गरेका छन् ।

अनुसन्धानकर्ताहरुले भाइरसको जेनेटिक सिक्वेन्सिङ गरेर यी सबै केसमा भाइरसको जिनोम उस्तै भएको पत्ता लगाएका छन् । हनोइकी महिला बिजनेस क्लासमा यात्रा गरिरहेकी थिइन् । जाँचमा उनीबाट बिजनेस क्लासका १२ जना, इकोनोमी क्लासका २ यात्री र एक क्रु सदस्य महिलाका कारण संक्रमित भएको पाइएको छ ।

अनुसन्धानकर्ताका अनुसार लामो दूरीको उडानमा कोरोनाभाइरस फैलिने खतरा वास्तविक हो र एक साथ ठूलो संख्यामा मानिसहरु संक्रमित हुन सक्छन् । अनुसन्धानकर्ताहरुका अनुसार केवल टाढा बस्दैमा कोरोनाको खतरा कम हुँदैन । अध्ययनमा कोरोना नियन्त्रणका लागि उडानमा यात्रुको स्क्रिनिङ र जाँचको व्यवस्था गर्न सुझाव दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *