प्राधिकरणका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर ऊर्जामन्त्रीले भने: कार्यकारी निर्देशक आउनु/जानु नियमित प्रक्रिया हो

डिसी नेपाल
८ असोज २०७७ २०:२४

काठमाडौं। गएको भदौ २९ गते कुलमान घिसिङले आ आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट विदा लिएसँगै प्राधिकरण नेतृत्वविहीन छ। केदार कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ।

सडकमा भने घिसिङलाई नै पुनः कार्यकारी निर्देश नियुक्ति गर्नुपर्ने भन्दै प्रदर्शनहरु भइरहेका छन्। घिसिङले अवकास पाउनुभन्दा पहिलादेखि नै उनलाई नै फेरि कार्यकारी निर्देशक बनाउनुपर्ने आवाज उठेको थियो।

कुलमानको यसरी माग बढ्नुको कारण उनको कार्यकालमा भएको लोडसेडिंग अन्त्य हो। घिसिङका बर्हिगमनसँगै फेरि लोडसेडिंग हुने गरेको चर्चा हुन थालेपछि बिहीबार ऊर्जा मन्त्री वर्षमान पुनले मन्त्रालयमा प्राधिकरणका पदाधिकारीलाई बोलाएर छलफल गरेका छन्।

छलफलमा मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशकबिहीन भएको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेकाले ती प्रश्नको जवाफ काम गरेर दिनुपर्ने बताएका छन्। उनले काम गर्दै गएपछि प्रश्नहरु सेलाउँदै जाने बताएका छन्। उनले कतिपय गुनासोहरु स्वाभाविक भए पनि कतिपय गुनासाहरु भने अस्वाभाविक भएको प्रतिक्रिया दिएका छन्।

मन्त्री पुनले प्राधिकरणको कार्यकारी निर्देशक को हुन्छ भन्ने विषय भन्दा पनि यो नियमित प्रक्रिया रहेको बताए। उनले भने, ‘कार्यकारी निर्देशक आउने/जाने प्रक्रिया नियमित हो।’ उनले घिसिङसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कामबाटै दिन निर्देशन दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *