विश्व रेविज दिवस : नुवाकोटमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
नुवाकोट । “रेविजको अन्त्य : सहकार्य र खोप” भन्ने नाराको साथ १४ औँ विश्व रेविज दिवस नुवाकोटमा विविध कार्यक्रम गरी मनाइने भएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र नुवाकोटले बिभिन्न कार्यक्रमको आयोजना गरी विश्व रेविज दिवस मनाइने जानकारी दिएको छ।
केन्द्रका अनुसार १४ औँ रेविज दिवसको अवसरमा असोज १० गते शनिबारदेखि १३ गते मंगलवारसम्म ढुङ्गेस्थित कार्यालयमा घरपालुवा तथा सडकका छाडा कुकुरलाई निःशुल्क रेविज बिरुद्धको खोप लगाइनेछ।
कार्यालयले एक सुचना जारी गर्दै बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म त्यस्ता जनावरहरु ल्याएर खोप लगाई रेविजबाट बच्न तथा बचाउन सबैमा अनुरोध गरेको छ।
रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज दिवस मनाउने गरिएको छ। रेविज रोग, रेविज लागेका कुकुर, स्याल, बिरालो लगायतका पशुको टोकाईबाट मानिस र अरु स्तनधारी प्राणीमा सर्ने प्राणघातक रोग हो।
रोगका जिवाणुहरु रोगी पशुको र्यालमा रहने भएकाले त्यस्ता पशुले टोक्दा घाउसँगै मानिसको शरीरमा प्रवेश गरी रोग उत्पन्न गर्छन्। मानिसको शरीरमा रेविजको भाइरस प्रवेश गरेको ३० देखि ६० दिनमा रोग देखा पर्छ। तर कम्तीमा १० दिनमै वा वर्षौंपछि पनि देखा पर्न सक्ने सम्भावना हुने चिकित्सकले बताएका छन्।
रेविज प्राणघातक रोग भएकाले रोगबाट जोगिन खोप लिनै पर्ने तथा बौलाहा पशुले टोकेको शंका लागेमा तत्काल साबुन पानीले धुने जस्ता रोकथामका उपाय अपनाउनुपर्ने चिकित्सकको सुझाव छ। अध्ययन अनुसार नेपालमा रेविज फैलनुको मुख्य कारण जंगली स्यालको टोकाइ रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment