बढी भाडा लिनेलाई यात्रु बनेर कारवाही
काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अभियान शुरु गरेको छ । सोही अभियानअन्तर्गत मंगलबार चाडपर्वको मौका छोपेर काठमाडौँ उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाइदा उठाई बढी भाडा टिकट काट्ने पाँच जनालाई कारवाही गरिएको छ ।
ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए। पक्राउ पर्नेमा कोटेश्वर क्षेत्रको टिकट काउन्टरका विमल खत्री र किरण पौडेल तथा बल्खु टिकट काउन्टरका जीतेन्द्र साह, मदन भुजेल र धर्मेन्द्र यादव छन् ।
सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर यात्रु ठगी रोक्ने अभियान चलाइएको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले जानकारी दिए। प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गरिने बताइएको छ ।
प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र यात्रु बस्ने लाममा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर श्रव्यदृष्य अभिलेख गरेर पनि कारवाही गर्ने गरिएको छ । यसका लागि ट्राफिक प्रहरीले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ । पक्राउ पर्ने व्यक्तिलाई आवश्यक कारवाहीका लागि सम्बन्धित प्रहरी वृत्तमा बुझाइएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment