सर्वाधिक संक्रमित थपिएपछि गगनले भने, प्रधामन्त्रीज्यू मन्त्रिमण्डल पुनर्गठनबारे छलफल होइन महामारीबारे गरौं

डिसी नेपाल
२२ असोज २०७७ १७:२५
184
Shares

काठमाडौं। बिहीबार एकैदिन सर्वाधिक ४३६४ जना नयाँ कोरोना संक्रमित थपिएपछि देशमा कोरोना महाभारी भयानकरुपमा पुगेको देखिएको छ। १८७०० को पीसीआर परीक्षण गर्दा यो संख्यामा नयाँ संक्रमित थपिएका हुन्। करिब २२ प्रतिशत संक्रमण दर भएपछि काँग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मामाथि आक्रामक टिप्पणी गरेका छन्।

उनले समय छँदा ध्यान नदिएको र अहिले पनि कोरोना महामारीभन्दा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल गरेको टिप्पणी गरेका छन्। स्मरण रहोस गएको असारबाट भदौ २६ सम्म सत्तारुढ दलमा विवाद थियो भने त्यसपछि मन्त्रिमण्डल पुनर्गठनका विषयमा सत्तारुढ दलका दुई अध्यक्षबीच दिनहुँ भेट भइरहेका छन्। तर, ती भेटहरु कोरोना महामारीभन्दा पनि मन्त्रिमण्डल पुनर्गठनमा केन्द्रित छन्।

नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एकातर्फ काठमाडौँ बाहिर परीक्षणको संख्या घट्दै गएको छ तर चाडबाडको सम्मुखमा देशव्यापी आवागमन बढिरहेको छ।अर्कोतर्फ काठमाडौँमा कोभिड संक्रमितलाई जटिलता हुँदा न त आइसोलेसनमा राखेर उपचार गर्ने बेड छ न त सघन उपचारका लागि कहीँ बेड उपलब्ध नै छ।केही समस्या भइहाले के गर्ने,सवैमा अलमल छ।’

थापाले अगाडि थपेका छन्, ‘यो अवस्था आउन नदिन पूर्व तयारी गरौँ, यसरी गर्न सकिन्छ भनेर प्रधानमन्त्रीज्यूलाई पटक पटक नभनेको होइन तर प्रमलाई यस्तो कुरा सोच्ने फुर्सद भएन।समय,स्रोत,सहयोग सबै थियो तर तपाईँको सोच र शैलीको कारण जटिल अवस्थामा पुगेका छौँ। टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौँ। योबेला पनि तपाईंको प्राथमिकतामा महामारी छैन। अहिले मन्त्रीमण्डल भागबन्डाबारे होइन, संकटबारे छलफल गर्नुस्। बेहोस भएमात्र अस्पताल जाऊ भन्ने विज्ञ होइन, वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाका कुरा सुन्नुस्। कोभिड विरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहान्छौं तर केही त गर्नुस् प्रमज्यू।’

नेता थापा पनि आफै पनि संक्रमित छन्। उनी होम आइसोलेशनमा छन्।

https://www.facebook.com/thapagk/posts/3500038043373416

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *