ई-जीपी प्रणाली सुरु गर्न र बाढीपीडितको मानसिक स्वास्थ्य सुधार्न माग

डिसी नेपाल
२६ भदौ २०८३ १३:४८

काठमाडौं। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई-जीपी) को अवरोध र भोटेकोशी-त्रिशूली बाढी प्रभावितहरूको मनोसामाजिक समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

ई-जीपी प्रणाली तत्काल खुलाउन युवराज दुलालको माग

नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले ई-जीपी प्रणाली बन्द हुँदा विकास निर्माण, औषधि तथा अत्यावश्यक सामग्रीको खरिद प्रक्रिया ठप्प बनेको भन्दै प्रणाली तत्काल सुरु गर्न माग गरे।

भदौ र असोज ठेक्कापट्टाका लागि मुख्य समय भएको औँल्याउँदै उनले प्रणाली ह्याक भएको बहाना वा नयाँ मोडलका नाममा कागजी प्रक्रियामा फर्काएर अनियमितता गर्न खोजिएको भए त्यो स्वीकार्य नहुने चेतावनी दिए।

प्राविधिक समस्या वा ह्याकिङमा संलग्न जोकसैलाई निष्पक्ष छानबिन गरी कारबाही गर्न र डिजिटल सुशासन कायम राख्न उनले आग्रह गरे।

बाढीपीडितको मानसिक पुनर्स्थापनामा रेनुका काउँचाको जोड

नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले भदौ १० को भोटेकोशी तथा त्रिशूली बाढी प्रभावित नागरिक र स्थानीय कर्मचारीको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुरक्षामा ध्यान दिन सरकारसँग माग गरिन्।

अपर त्रिशूली-१ का इन्जिनियर सुरेश सापकोटा बेपत्ता हुनु र शिक्षिका ईश्वरी भट्ट विक्षिप्त बनेको उदाहरण दिँदै उनले भौतिक संरचनाको निर्माणसँगै भत्किएको मन र आशाको पुनर्निर्माण हुनुपर्ने बताइन्।

बालबालिका, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी तत्काल योग, ध्यान, मनोसामाजिक परामर्श र जीविकोपार्जनका स्पष्ट योजना ल्याउन उनले जोड दिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *