वास्तविक गुञ्जन सक्सेनाले अदालतमा दिएको बयानले करण जौहर संकटमा

डिसी नेपाल
३० असोज २०७७ १२:४९

नयाँ दिल्ली। बलिउड फिल्म ‘गुञ्जन सम्सेनाः द कारगिल गर्ल’विरुद्ध दिल्ली उच्च अदालतमा चलिरहेको केसमा करण जौहर र उनको फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्सन संकटमा परेका छन् । फिल्ममाथि भारतीय वायुसेनाको गलत छवि देखाएको आरोप लागेको छ । यो फिल्म फ्लाइट लेफ्टिनेन्ट गुञ्जन सक्सेनाको बायोपिक हो । अहिले अवकाश पाइसकेकी वास्तविक गुञ्जन सक्सेनाले यो मुद्दाको सम्बन्धमा दिल्ली उच्च न्यायालयमा पेश गरेको एफिडेबिटमा एयरफोर्समा रहँदा आफूमाथि लैंगिक आधारमा कुनै पनि भेदभाव नभएको बताएकी छिन् ।

फिल्ममा गुञ्जन सक्सेनामाथि लैंगिक आधारमा भेदभाव देखाइएको छ । फिल्ममा गुञ्जन सक्सेनाको भूमिका जाह्नवी कपूरले निभाएकी छिन् । उच्च न्यायालयमा न्यायाधीश राजीव शकधरको एकल इजलासमा पेश गरिएको एफिडेबिटमा गुञ्जनले भारतीय वायु सेना अत्यन्तै प्रगतिशील संस्थान भएको कुरामा आफूले विश्वास गर्ने बताएकी छिन् । उनले भारतीय वायुसेनाले आफूलाई देशको सेवा गर्ने अवसर दिएकोमा आफू सधैं आभारी रहने बताएकी छिन् । गुञ्जनले यो फिल्म डकुमेन्ट्री नभइ आफ्नो जीवनबाट प्रेरित भएको बताउँदै फिल्ममा देखाइएका हरेक घटना आफ्नो जीवनमा घटेकै थिए भन्ने कुराको भने आफूले दावी नगर्ने बताएकी छिन् । यो फिल्म आफ्नो जीवनको नाटकीय प्रस्तुती भएको गुञ्जनले बताएकी छिन् ।

भिडियो कन्फरेन्सबाट भएको सुनुवाइमा उच्च अदालतले भारतीय वायुसेना र धर्मा प्रोडक्सनका वकिलहरुलाई साथमा बसेर फिल्ममा देखाइएका सामग्रीहरुसम्बन्धी मुद्दा हल गर्ने कोसिस गर्न भनेको छ । अदालतले फिल्मलाई थिएटरमा रिलिज गर्न प्रतिबन्ध लगाउने माग भने अस्वीकार गरेको छ । अब अर्को सुनुवाइ १८ जनवरी २०२१ मा हुनेछ । फिल्मविरुद्ध केन्द्र सरकारले दिल्ली हाइकोर्टमा उजुरी गरेको थियो । केन्द्रले फिल्मले वायुसेनाको छवि धमिल्याउले प्रयास गरेको आरोप लगाएको थियो । फिल्ममा लैंगिक आधारमा भेदभाव भएको देखाइएको र यो सही नभएको केन्द्र सरकारको आरोप थियो । केन्द्रले फिल्म थिएटरमा रिलिज गर्न रोक लगाउन माग गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *