कोरोना भाइरसबाट १ लाख ७१ हजार ४०४ नेपाली संक्रमित, १ हजार १० जनाको मृत्यु

डिसी नेपाल
२ कार्तिक २०७७ ११:१४

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने नेपालीको संख्या १ लाख ७१ हजार नाघेको छ। शनिबार साँझसम्म नेपालसहित विभिन्न देशहरुमा १ लाख ७१ हजार ४०४ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)का स्वास्थ्य समिति संयोजक डा. संजीव सापकोटाले डिसी नेपाललाई जानकारी दिए।

उनका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म नेपाल बाहेक विदेशमा मात्र ४२ हजार १ सय जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ३८ हजार ३ सय ४६ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिको तथ्याङकले देखाउँछ। । विदेशमा कोरोना मुक्त हुनेको संख्या औसतमा ९१ प्रतिशत रहेको छ।

संयोजक सापकोटाका अनुसार यो साता भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।

यस्तै शनिबारसम्म नेपालमा मात्रै १ लाख २९ हजार ३०४ जना कोरोना भाइरसबाट संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये ८९ हजार ८ सय ४० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना मुक्त हुनेको संख्या औसतमा ६९ दशमलव ५ प्रतिशत हो ।

सापकोटाका अनुसार विश्वभर १ लाख ७१ हजार ४०४ जनामा नेपालीमा संक्रमण पुष्टि भएकोमा तीमध्ये १ लाख २८ हजार ४ सय ८६ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् । नेपालसहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसतमा ७४ प्रतिशत रहेको छ ।

१ हजार १० नेपालीको मृत्यु

हालसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या १ हजार १० पुगेको एनआरएनए स्वास्थ्य समितिले जनाएको छ । समितिका अनुसार शनिवार साँझसम्म विदेशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ८३ पुगेको छ । नेपालबाहिर विभिन्न १९ देशमा कोरोनाको कारण नेपालीले ज्यान गुमाएका छन्।

कोरोनाको संक्रमणबाट बेलायत,अमेरिका, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकाल,इजरायलगायत १९ देशमा नेपालीहरुको ज्यान गएको हो।

त्यस्तै शनिबार साँझसम्म नेपालमा ७ सय २७ जनाको कोरोनाको कारण ज्यान गएको छ । योसँगै विश्वभर कोरोनाको संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या १ हजार १० पुगेको हो।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *