सेनाको पृतनापति सम्मेलनमा विप्लवको चर्चाः नियन्त्रणका लागि विशेष रणनीतिक बनाउन निर्देशन

डिसी नेपाल
५ कार्तिक २०७७ १२:३०

काठमाडौं। रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाले आयोजना गरेको पृतनापति समन्वयात्मक सम्मेलनमा सम्बोधन गर्दै मुलुकमा अराजक तत्वहरु हावी हुन थालेको धारणा राखेका थिए।

उनले अराजक तत्वकै कारण कतिपय सन्दर्भमा विकास निर्माणमा समेत बाधा पुगेको भन्दै यस्ता तत्वहरुको नियन्त्रण आवश्यक रहेको उनको धारणा थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लवको नाम नलिई विप्लव समूहले सञ्चालन गरेको गतिविधि तर्फ लक्षित गर्दै नेपाली सेनाको पृतनापति समन्वयात्मक सम्मेलनमा त्यस्तो अभिव्यक्ति दिनु सेनाका लागि विप्लव समूह पनि निगरानी राख्नु भन्नेतर्फ लक्षित थियो।

त्यही क्रममा नेपाली सेनाले मुलुकमा कोभिड १९ को चुनौतीसँगै अन्य सुरक्षा चुनौतीहरू पनि बढ्दो रुपमा रहेको भन्दै सो सम्मेलनमा सबै प्रकारको सुरक्षा अवस्थाबारे पृतनापतिहरुबाट जानकारी लिएको थियो।

‘पृतनापति समन्वयात्मक बैठकमा प्रधानमन्त्रीको समेत विप्लव लक्षित अभिव्यक्ति आएपछि चासो रहनु स्वाभाविक हो’, सम्मेलनमा सहभागी एक सैन्य अधिकृतले भने। पृतनापतिहरूले नेत्रविक्रम चन्द (विप्लव) समूहको गतिविधिलाई ध्यानमा दिएर उनीहरुको गतिविधिबारे व्रिफिङ गरेका थिए। उपत्यका पृतना बाहेक अन्यले चन्दको गतिविधिलाई नियाल्न र निस्तेजको रणनीति तय गर्न आवश्यक रहेको व्रिफिङ गरिएको थियो।

पृतनापतिहरूले नेत्रविक्रम चन्द (विप्लव) समूहको गतिविधिलाई ध्यानमा दिएर उनीहरुको गतिविधिबारे व्रिफिङ गरेका थिए। उपत्यका पृतना बाहेक अन्यले चन्दको गतिविधिलाई नियाल्न र निस्तेजको रणनीति तय गर्न आवश्यक रहेको व्रिफिङ गरिएको थियो।

पृतनापतिहरुको सो सम्मेलनपछि सेनाले पनि विप्लव समूहको नाम नलिई उसैप्रति लक्षित गर्दै मुलुकमा द्वेष फैलाउने, शान्ति सुरक्षामा खलल पु-याउने कुनै पनि व्यक्ति वा समूहलाई नेपाली सेनाले आफ्नो तर्फबाट सरकारको निर्देशन अनुरुप कारबाही गर्नेछ भनेर विज्ञप्ति समेत जारी गरेको छ।

सेनाले जारी गरेको विज्ञप्तिमा त्यस्ताको गतिविधिमा निगरानी राखेर निस्तेज गर्नका लागि अन्य सुरक्षा निकायसँग सेनाले सहकार्य गर्ने उल्लेख समेत गरेको छ। ‘मुलुकको सार्वभौमिकता, सुरक्षा र अखण्डताको लागि सेना सधैं संविधानको परिधिमा रहेर पहरेदारीको भूमिमा हुने पनि स्पष्ट पारिएको छ’, सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

स्रोतका अनुसार सुरक्षाको विषयमा नयाँ रणनीति बनाउने, यस्ता समूहलाई निस्तेज पार्ने जस्ता विषयमा छलफल भएको थियो। गत भदौमा नै गर्ने भनिएको उक्त समन्वय बैठक तत्कालीन रक्षामन्त्रीसँगको सेनाको सम्वन्धमा आएको चिसोपनाले पछि धकेलिएको थियो।सम्मेलन आइतबार आरम्भ भएर मंगलबार सकिएको थियो।

रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीले आइतबार सो कार्यक्रमको उदघाटन गरेका थिए। प्रधानमन्त्री ओलीले सेनाभित्रै घुसपैठ हुनसक्ने संकेत गरेपछि सम्मेलनमा यस्ता घुसपैठको विषयमा पनि छलफल भएको स्रोतको दावी छ।

भर्चुअल माध्यमबाट जंगीअड्डाले सञ्चालन गरेको सो सम्मेलनमा सेनाका विभिन्न महानिर्देशनालय, निर्देशनालय, विभाग र कार्यालयबाट आ-आफ्नो विभागको जिम्मेवारी सम्बन्धि विषयहरूको कार्य प्रगतिको समीक्षा गरिएको थियो।

प्रधानसेनापति पूर्णचन्द्र थापाले बैठकको समापन गर्दै भएका प्रस्तुतिकरण र छलफलबाट निस्किएका निचोडहरूले भविष्यको लागि महत्वपूर्ण मार्गदर्शन गर्ने बताएका थिए। नेपाली सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले संगठनलाई पद्धति र प्रणालिमा आधारीत बनाउन थप बल पु-याएको पनि उनले बताए।

जाडो मौसमका कारण पनि कोभिड-१९ को महामारी बढ्दै जाने पूर्वानुमान अनुसार सबै पृतनाहरुले सम्बन्धित सरोकारवाला निकायहरूसँगको निरन्तर समन्वयमा आवश्यक पूर्वतयारी गर्नको लागि निर्देशन दिएको सैनिक जनसम्पर्क निर्दैशानालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *