अस्पतालको आइसीयूमा भेन्टिलेटरमा राखिएकी २१ वर्षकी युवती बलात्कृत !

डिसी नेपाल
१४ कार्तिक २०७७ १६:३६

काठमाडौं। क्षयरोगबाट पीडित भएर अस्पतालको आइसीयूमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेकी २१ वर्षकी एक युवती बलात्कृत भएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । भारतको गुरुग्राममा रहेको फोर्टिस अस्पतालमा आइसीयूमा युवतीलाई बलात्कार गरिएको हो । युवती अर्धचेतन अवस्थामा रहेका बेला अस्पतालकै कर्मचारीले बलात्कार गरेको बताइएको छ । हिन्दूस्तान टाइम्सको रिपोर्टअनुसार पीडित युवती मंगलबार होसमा आएपछि आफ्ना पितालाई लेखेर घटनाबारे बताएकी थिइन् । लगत्तै परिवारले पुलिसमा गएर उजुरी दर्ता गराएका थिए ।

पुलिसका अनुसार पीडितको परिवारले उनी अस्पताल भर्ना भएको दिन अक्टोबर २१ देखि उनी होसमा आएको दिन अक्टोबर २७ को बीचमा कुनै दिन बलात्कारको घटना भएको आशंका गरेका छन् । पीडित अझै पनि अस्पतालमा उपचारको क्रममै छिन् । पीडित महेन्द्रगढकी हुन् र उनलाई सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । पुलिसका अनुसार घटनाको समयमा उनी अस्पतालको आइसीयूमा छुट्टै कोठामा आइसोलेसनमा थिइन् ।

असिस्टेन्ट कमिश्नर अफ पुलिस उषा कुन्डुका अनुसार पुलिसले आरोपीको पहिचान गरिसकेको छ । पीडितले आरोपीको नाम विकास बताएका आधारमा उनको पहिचान गरिएको कुन्डुले बताइन् । विकास अस्पतालमा करारमा काम गर्ने गैर मेडिकल स्टाफ हुन् । कुन्डुका अनुसार पीडित अहिले बयान दिन सक्ने अवस्थामा छैनन् । पीडितका पिताले अस्पतालको आइसीयूमै आफ्नी छोरी बलात्कृत हुनु अस्पतालमा बिरामीको सुरक्षामा गम्भीर त्रुटि भएको आरोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *