ट्रम्पको आरोप- ‘क्यानडा अमेरिकी राज्यसरहको फाइदा चाहन्छ, तर राज्य भने बन्न चाहँदैन’
काठमाडौं । अमेरिका-क्यानडा व्यापार विवाद अझ जटिल बन्दै गएको छ। व्यापार वार्ता (ट्रेड टक) असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि प्रहार गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ‘ट्रुथ सोसल’ मा लेखेका छन्, “क्यानडा राज्य नबनीकनै राज्यसरहको फाइदा उठाउन चाहन्छ। उसले धेरै वर्षदेखि हाम्रा महान् कृषकहरूबाट भारी शुल्क (ट्यारिफ) समेत असुलिरहेको छ। अब यो चल्दैन।”
वार्ता असफल भएपछि अमेरिकाले क्यानडाबाट आयात हुने कैयौँ सामानमा ५० प्रतिशतसम्म नयाँ भन्सार शुल्क (ट्यारिफ) थप गरिदिएको छ।
ट्रम्पको यो भनाइ क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको त्यस अभिव्यक्तिपछि आएको हो, जसमा उनले नयाँ अमेरिकी ट्यारिफलाई ”गलत मूल्याङ्कन” भनेका थिए।
कार्नीले भनेका थिए, “यी ट्यारिफको उद्देश्य क्यानडालाई नोक्सान पुर्याउनु र विभाजित गर्नु हो।”
कार्नीले आगामी सेप्टेम्बर ८ देखि क्यानडाले पनि अमेरिकाको ट्यारिफको प्रतिउत्तर समान रूपमा (डलर-फर-डलर) फर्काउने घोषणा गरेका छन्।
यसअन्तर्गत स्टिल, डेरी उत्पादन, घरायसी उपकरण र इलेक्ट्रोनिक्समा लगाइने ट्यारिफहरू समावेश हुनेछन्। दुवै देश अब “व्यापार युद्ध” (ट्रेड वार) को स्थितिमा पुगेको उनले बताएका छन्।
कार्नीले भने, “उनीहरूले धेरै माग गरे र निकै कम दिने प्रस्ताव राखे।”
उनले अगाडि थपे, “जब तपाईँमाथि आक्रमण हुन्छ, तपाईँ युद्धमा हुनुहुन्छ। हामीमाथि आक्रमण भएको छ।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment