टर्कीमा ७ रेक्टर स्केलको भूकम्प, इजमिर शहरमा भवनहरु भत्किए
अंकरा (एजेन्सी)। शुक्रबार टर्कीमा शक्तिशाली भूकम्पको कम्पन महशुस गरिएको छ। अमेरिकी जियोलोजी सर्वेका अनुसार ७ रेक्टर स्केलको भूकम्पले टर्की हल्लिएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले हालसम्म भूकम्पमा परी कम्तिमा ४ जनाको मृत्यु भएको र १२० जना घाइते भएको जनाएका छन्।
टर्कीको तेस्रो ठूलो शहर इजमिरमा भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको बताइएको छ। तटीय शहर इजमिरमा कम्तिमा ६ वटा भवन भत्किएको टर्कीका गृहमन्त्रीले जनाएको रोयटर्सले जनाएको छ।
अधिकारीहरुले भूकम्पपछि सुनामी पनि आउन सक्ने चेतावनी दिएका छन्। उता भूकम्पको झट्का ग्रीस र एथेन्ससम्म महशुस गरिएको जनाइएको छ। ग्रीसमा पनि भूकम्पले क्षति गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्। ग्रीस सरकारले सामोस द्वीपका ४५ हजार मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको जनाइएको छ।
टर्की विश्वका भूकम्पीय उच्च जोखिममा पर्ने मुलुक मध्ये एक हो। यसअघि १९९९ मा ७ दशमवल ६ रेक्टर स्केलको भूकम्पले टर्कीमा १७ हजार मानिसको मृत्यु भएको थियो।







डिसी नेपाल








Facebook Comment