अर्मेनिया–अजरबैजान सम्झौताः रुसले नागोर्नो काराबाखमा तैनाथ गर्यो शान्ति सेना
मस्को (एजेन्सी)। अर्मेनिया र अजरबैजानबीच सम्झौत भएपछि नागोर्नो र काराबाखको विवादित क्षेत्रमा रुसले सयौं शान्ति सेना तैनाथ गरेको छ।
अर्मेनिया र अजरबैजानबीच हप्तौसम्म भएको युद्धपछि गएको सोमबार रुसले यी दुई देशबीच एक शान्ति सम्झौता गराएको छ। नागोर्नो र काराबाख क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा अजरबैजानको भए पनि १९९४ देखि त्यहाँका अर्मेनियालीले कब्जा गरेका थिए।
रुसले गराएको शान्ति सम्झौतापछि अजरबैजानमा खुशियाली छायएको छ भने उता अर्मेनियामा केही मानिसहरु रोष प्रकट गरेका छन्। शान्ति सम्झौताअनुसार युद्धका क्रममा अजरबैजानले कब्जा गरेका क्षेत्रमा आफ्नो नियन्त्रण कायम राख्ने छ।
यसका साथै अर्मेनियाको सरकारले आगामी केही हप्तामा अन्य केही क्षेत्रबाट पनि पछाडी हट्ने सहमति गरेको छ। अजरबैजानको राजधानी बाकुस्थित बीबीसी संवाददाता ओरला गुएरिनले यो सम्झौतालाई अजरबैजानको जित र अर्मेनियाको हारका रुपमा हेरिएको बताएका छन्।
उता यो सम्झौताबाट रुष्ट अर्मेनियालीहरु सडकमा निस्केको बीबीसीले जनाएको छ। प्रदर्शनकारीहरुले सरकारी भवनमा क्षति गरेका छन् भने प्रधानमन्त्री निकोल पाशिन्यानको राजीनामा मागेका छन्।
यस शान्ति सम्झौतामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, अजरबैजानका राष्ट्रपति इलहाम अलीयभ र अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले हस्ताक्ष्ँर गरेका छन्। यो सम्झौता गएको मंगलबार राति एक बजेबाट लागू भएको छ।
सम्झौतामा हस्ताक्षरपछि रुसी राष्ट्रपति पुटिनले एक टिभीमा सम्बोधन गर्दै रुसी शान्ति सेनालाई गस्तीका लागि अग्र भागमा तैनाथ गरिने बताए। फेरि टकराव नहोस भनेर शान्ति सेना सक्रिय हुने उनले बताए। उनले रुसका शान्ति सेनाका केही टुकुडीहरु मंगलबार उल्यानोस्कको एक एअरबेसबाट नागोर्नो र काराबाख पठाइएको जानकारी दिए। कम्तिमा २ हजार रुसी सेना यो क्षेत्रमा सक्रिय हुने र लाचिन करिडोरको रक्षा गर्ने बताइएको छ।
लाचिन करिडोरले काराबाखको राजधानी स्टेपनाकर्टलाई अर्मेनियाँसँग जोड्छ। यसका साथै यो क्षेत्रमा ९० बख्तरबन्द गाडी पनि तैनाथ हुनेछन्। यहाँ पञ्चवर्षीय मिशन कायम रहने बताइएको छ। राष्ट्रपति पुटिनले यो शान्ति सम्झौताअनुसार सबै आर्थिक र परिवहन सम्पर्क बाहाल गरिने र युद्ध बन्दीहरुलाई एकअर्का देशलाई सुम्पिने बताएका छन्।
अर्मेनिया र अजरबैजान दुबै देशसँग रुसको मित्रवत सम्बन्ध छ। रुसले दुबै देशलाई हतियार बेच्दै आएको छ। उता अमेनियासँग रुसको सैन्य गठबन्धन पनि छ। अर्मेनियामा रुसको एक सैन्य शिविर पनि छ। उता टर्कीले भने खुला रुपमा अजरबैजानको समर्थन गर्दै आएको छ। टर्की पनि यो सम्झौताको हिस्सा रहेको बताइएको छ। तर, उसको भूमिकाबारे भने केही खुलाइएको छैन।
यो सम्झौतापछि अजरबैजानमा खुशियाली मनाइएको छ। राजधानी बाकुमा जितको माहोल रहेको र सडकहरुमा राष्ट्रिय झण्डा देखिएको बीबीसीले जनाएको छ। बीबीसी संवाददाताले बाकुमा जनताहरुलाई जितको अनुभव भएको बताएका छन्।
अर्मेनिया र अजरबैजानबीच लामो समयदेखि तनाव क मगर्ने प्रयास भइरहेको थियो। शान्तिको प्रयास हुँदाहुँदै सेप्टेम्बरमा युद्ध शुरु भयो। गएको शनिबार आइतबार अजरबैजानले विवादित क्षेत्रको एक मुख्य शहर शूशा जसलाई अर्मेनियालीहरु शूशी भन्छन्, त्यसलाई कब्जामा लिएको बतायो। विश्लेषकहरुले शूशा शहर रणनीतिक रुपमा निकै ठिक स्थानमा छ। जहाँबाट विवादित नागोर्नो र काराबाखको मुख्य शहर स्टेपनाकर्टलाई निशाना बनाउन सजिलो हुन्छ। तर अर्मेनियाले भने अजरबैजानको दावी गलत भन्दै शूशा आफ्नै कब्जामा रहेको बताएको थियो।
तर मंगलबार अर्मेनियाका नेता अरायिक हारुतयुनानले ग्राउण्ड जिरोको अवस्था हेर्दा अर्मेनियाली सेनासँग सम्झौता गर्नुको विकल्प नभएको बताएका थिए। उनले फेसबुकमा स्टेनपनाकर्टको बाहिरी क्षेत्रमा पनि युद्ध भइरहेको भन्दै यदि यो युद्ध जारी रहे पूरा काराबाख क्षेत्र गुमाउनु पर्ने र धेरै जनधनको क्षति हुने लेखेका छन्।
यसैबीच अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले शान्ति सम्झौतामा हस्ताक्षर गरे। तर उनले भनेका थिए, ‘यो सम्झौता मलाई र अर्मेनियाका जनताका लागि निकै गह्रौ भएको छ। हाम्रो लागि पीडादायी छ।’







डिसी नेपाल








Facebook Comment