ट्रम्प प्रशासनले बाइडेनको विदेश मन्त्रालयमा पहुँच रोक्यो, विभागमा आएका पत्र हेर्न दिइएन

डिसी नेपाल
२७ कार्तिक २०७७ १०:४९
460
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई विदेशी नेताहरुले पठाएका थुप्रै सन्देशहरु अमेरिकी विदेश मन्त्रालयमा त्यत्तिकै थुप्रिएका छन् तर ट्रम्प प्रशासनले बाइडेनलाई ती सन्देशहरु हेर्न नदिएको विदेश विभागका अधिकारीहरुले जनाएका छन् । यसअघि विदेश विभागले राष्ट्रपतिमा निर्वाचित उम्मेदवारलाई ती सबै सन्देशहरु हेर्न दिने प्रचलन थियो । तर, ट्रम्प प्रशासनले भने बाइडेनलाई ती सन्देशहरु उपलब्ध गराएको छेन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनको विजय स्वीकार नगरेकोले उनलाई ती सामग्रीहरु हेर्न नदिइएको बताइएको छ । सीएनएनको रिपोर्टअनुसार ट्रम्प प्रशासनले आधिकारिक सरकारी संयन्त्रमा पहुँच नदिएपछि बाइडेनको टिमले आफ्नै तरिकाले विदेशी नेताहरुसँग सम्पर्क गरिरहेको छ र बाइडेन स्वयंले दैनिक कैयौं फोन वार्ताहरु गर्ने गरेका छन् । बाइडेनले जर्मन चान्सलर एन्जेला मोर्केल र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई व्यक्तिगत रुपमा फोन गरेको रिपोर्टमा जनाइएको छ । व्यक्तिगत रुपमा विदेशी नेताहरुसँग सम्पर्क गर्दा बाइडेनले अमेरिकी विदेश विभागले उपलब्ध गराउने अनुवादक र अन्य सुविधा प्रयोग गर्न पाएका छैनन् ।

बाइडेनलाई विदेश मन्त्रालयमा सन्देश प्राप्त गर्न र विभागले उपलब्ध गराउने सुविधाहरु प्रयोग गर्नबाट मात्र रोकिएको छैन, मंगलबार विदेश मन्त्री माइक पोम्पियोले समेत बाइडेनको विजय स्वीकार गर्न अस्वीकार गरे । उनले आक्रोशित रुपमा दोस्रो ट्रम्प प्रशासन सुरु हुने बताए । बाइडेनलाई राष्ट्रपतिको दैनिक ब्रिफ भनिने इन्टेलिजेन्स ब्रिफिङ पनि सुन्न दिइँदैन र ब्रिफिङ ट्रम्पसँग मात्र गरिन्छ । विदेशी नेताहरुले पनि अमेरिकी सरकारले आफूहरुलाई बाइडेनसँग सम्पर्क गर्न नदिने कुरा बुझ्न थालेका छन् र उनीहरुले बाइडेनसम्म पहुँचको लागि ओबामाको समयका कूटनीतिज्ञहरुमार्फत बाइडेनसँग सम्पर्क गर्न थालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.