निर्वाचनले ट्रम्पको परिवार विभाजित, सल्लाहकार छोरी इवांकाको हार स्वीकार गर्न सल्लाह
काठमाडौं। अमेरिकी राष्ट्रपतिको निर्वाचन परिणाम र त्यसपछि राष्ट्रपति ट्रम्पले लिएको अडानले उनको परिवार नै विभाजित भएको छ । उनका छोराछोरीहरुले नै उनलाई फरक फरक र एक अर्काप्रति बाझिने सल्लाह दिन थालेका छन् । ट्रम्पका छोराछोरीले उनलाई एक अर्काको विपरित सल्लाह दिन थालेको स्रोतको हवाला दिँदै सीएनएनले दावी गरेको छ । ट्रम्पका सबैभन्दा विश्वासिला आफन्तहरुबाटै उनलाई फरक फरक सल्लाह दिइएपछि राष्ट्रपति ट्रम्प झनै दोधारमा परेको समाचारमा जनाइएको छ ।
रिपोर्टका अनुसार राष्ट्रपति ट्रम्पका ठूला छोराहरु डोनाल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पले पितालाई कुनै हालतमा हार स्वीकर नगर्न सल्लाह दिइरहेका छन् । अर्कोतर्फ ट्रम्पकी छोरी तथा ह्वाइट हाउसकी सल्लाहकार समेत रहेकी इवांकाले भने ट्रम्पलाई हार स्वीकार गर्न सल्लाह दिएकी छिन् । यससँगै ट्रम्पको परिवारमा समेत विभाजनको स्थिति आएको रिपोर्टमा दावी गरिएको छ ।
डोनाल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पले पितालाई अन्तिम समयसम्म आक्रामक तरिकाले लडिरहन सुझाएका छन् । उनीहरुले ट्रम्पले गर्दै आएका आधारहीन दावीलाई समेत निरन्तरता दिँदै चुनाबमा धाँधली भएको र यसको परिणाम परिवर्तन हुनुपर्ने मागमा अडिग रहनुपर्ने बताएका छन् । इवांका ट्रम्प र उनका पनि जारेद कुश्नरले भने फरक राजनैतिक गणित बुझेका छन् । इवांका र कुश्नरले ट्रम्पलाई बढीमा २ हप्तामा हार स्वीकार गर्न सल्लाह दिएका छन् । आगामी नोभेम्बर २० मा जर्जियाको पुनः मतगणना सकिँदासम्म ट्रम्पले परिस्थिति र परिणाम स्वीकार्नुपर्ने उनीहरुको सुझाव छ ।
इवांका र कुश्नरले भने कानुनी लडाइँले निर्वाचन परिणाम परिवर्तन गर्न नसक्ने विश्वास गरेका छन् । यद्यपि उनीहरुले पुनः मतगणना र कानुनी लडाइँलाई भने जारी राख्ने कुरामा कुनै अवरोध गरेका छैनन् । इवांकाले यसरी परिणाम अस्वीकार गर्न जारी राखेर यसले ट्रम्पको विरासत र उनको व्यवसायलाई हानी हुन सक्नेतर्फ पितालाई सचेत बनाएकी छिन् । यद्यपि यस विषयमा सीएनएनले सोधेको प्रश्नमा ह्वाइट हाउसका एक प्रवक्ता र डोनाल्ड ट्रम्प जुनियरका प्रवक्ताले प्रतिक्रिया दिन अस्वीकार गरे ।







डिसी नेपाल








Facebook Comment