नेकपाको विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत सक्रिय
काठमाडौं। सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी छन्। राजदूत यान्छीले मंगलबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग झण्डै दुई घण्टा छलफल गरेकी छन्।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपाका नेताहरु मंगलबार दिनभर सक्रिय रहे। प्रधानमन्त्री ओली पक्षधरले प्रचण्डलाई सचिवालयमा दर्ता गराएको राजनीतिक प्रस्ताव फिर्ता लिन र आज (बुधबार) तय भएको सचिवालय बैठक स्थगित गर्न आग्रह गरेका थिए।
दुवै पक्षका दोस्रो तहका नेता विवाद समाधानका लागि सक्रिय भएपनि विवाद समाधान हुने संकेत नदेखिएपछि मंगलबार साँझ अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई घण्टा लामो छलफल गरेका थिए।
विवाद बढ्दै नेकपा दुर्घटना नजिक पुगेका बेला उत्तरी छिमेकी चीनले राजदूतमार्फत सक्रियता बढाएको हो। राजदूत यान्छी मंगलबार राति आठ बजेर दश मिनेट जाँदा बालुवाटार प्रवेश गरेकी थिइन भने दश बजेर दश मिनेटमा बालुवाटारबाट बाहिरिएकी थिइन्।
प्रधानमन्त्री र चिनियाँ राजदूतबीच पार्टीभित्रको विवाद समाधानका विषयमा छलफल केन्द्रित भएको बालुवाटार स्रोतले जनाएको छ। नेकपाभित्र विवाद बढ्दै जाँदा राजदूत यान्छी सक्रिय हुने गरेकी छन्।
यसअघि पनि नेकपाभित्र विवाद बढ्दै जाँदा राजदूत यान्छीले नेकपाका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन्। प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक पद छोड्न ओलीलाई दबाव दिएपछि पार्टी विवाद उत्कर्षमा पुगेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment