नेकपाभित्र नेताहरुको दौडादौड, रणनीति बनाउन ओली पक्षधर नेताहरु बालुवाटारमा

डिसी नेपाल
३ मंसिर २०७७ ११:३४
320
Shares

काठमाडौं। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपाभित्र नेताहरुको दौडादौड सुरु भएको छ। बुधबार प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न शितल निवास पुगेपछि ओली पक्षीय नेताहरुको अनौपचारिक बैठक बालुवाटारमा जारी छ।

आज एक बजे बालुवाटारमा सचिवालय बैठक बस्ने तय भएपछि रणनीति तय गर्न ओली समूहको नेता बालुवाटारमा भेला भएका हुन्। स्रोतका अनुसार सचिवालय बैठकमा प्रचण्ड–नेपाल पक्षधरसँग गरिने ट्याकलका विषयमा छलफल भइरहेको छ। संसदीय दलका उपनेता सुवास नेम्वाङले ओली समूहका नेतहरुसँग छलफल गरिरहेको स्रोतले जनाएको छ।

यसअघि दिउँसो एक बजे नै मन्त्रिपरिषद बैठक बस्ने गरी प्रधानमन्त्री कार्यालयबाट मन्त्रीलाई म्यासेज पठाइएको थियो। तर पछि फेरि म्यासेज पठाएर दुई बजे बस्ने गरी बैठक सारिएको जानकारी दिइएको थियो।

गत शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिने तयारी प्रधानमन्त्रीले गरेका छन्। आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै त्यसको जवाफ दिने गरी प्रधानमन्त्री ओलीले प्रतिवेदन तयार गरेका छन्।

सचिवालय बैठकपछि मन्त्रिपरिषद बैठक बोलाइएको छ। स्रोतका अनुसार मन्त्रिपरिषद बैठकमा दल विभाजन सम्बन्धि अध्यादेशका विषयमा छलफल हुनेछ। अध्यादेशका विषयमा प्रधानमन्त्री ओलीले बुधबार नै राष्ट्रपति भण्डारीसँग छलफल गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.