देशको विकासमा सबै शक्ति एक भएर लाग्नुपर्छः मन्त्री यादव

डिसी नेपाल
३ मंसिर २०७७ २२:३०

सर्लाही । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले सर्लाहीको लालबन्दीस्थित इमरजेन्सी सेल्टर भवनको आज शिलान्यास गरेका छन् ।

शहरी विकास तथा भवन निर्माण कार्यक्रमअन्तर्गत रु दुई करोड ५० लाखको लागतमा निर्माण हुन लागेको सो भवनमा करिब २५० जनासम्म अटाउन सक्ने क्षमता हुने बताइएको छ ।

दैवी प्रकोप तथा विपत्तिको समयमा मानवीय सङ्कट सिर्जना नहोस् भन्नका लागि इमरजेन्सी सेल्टर भवनको निर्माण हुन लागेको हो ।

चालू आर्थिक वर्षमै निर्माण सम्पन्न गर्नेगरी जय धनञ्जय रवीन जेवी निर्माण कम्पनीले ठेक्का लिएको छ ।

सो अवसरमा मन्त्री यादवले देशको विकास निर्माणमा सबै राजनीतिक शक्ति एक भएर लागेमा मात्र नेपाली जनताले गाउँगाउँमा सिंहदरबार आएको महसुस गर्ने बताए।

देश नै सङ्कटमा रहेको समयमा एक पार्टीले अर्को पार्टीलाई आरोप प्रत्यारोप लगाउनुको सट्टा देशको विकास र समृद्धिमा लाग्न तथा सङ्कटबाट देशलाई बचाउन सबै राजनीतिक शक्तिलाई आग्रह गर्दै उनले जिल्लामा सघन उपचार कक्ष र पीसीआर मेसिन जडान गर्नका लागि आफूले सक्दो सहयोग र पहल गर्ने बताए।

लालबन्दी नगरपालिका– १० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठले भवन निर्माणका लागि प्रशान्त आचार्य, कृष्ण दाहाल, गोविन्द महत, सूर्यनारायण श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, लालबहादुर गोले र दिलकुमारी पाख्रिङ गरी सात जनाले चार कट्ठा पाँच धुर जग्गा सहयोग गरेको जानकारी दिए।

कार्यक्रममा प्रदेशसभा सदस्य बेची लुगेंली, डिल्ली उप्रेती, हरि उप्रेती, नेकपा सर्लाहीका इञ्चार्ज तथा केन्द्रीय सदस्य डाचाराज वाग्ले, केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकी, पूर्वराज्यमन्त्री शम्भुलाल श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

त्यस्तै शहरी विकास तथा भवन निर्माण कार्यक्रमले लालबन्दी नगरपालिका ४, ८ र १० का साथै हरिवन नगरपालिका– १ मा इमरजेन्सी सेल्टर भवन तथा सुख ज्येष्ठ नागरिक आवासको निर्माण गर्ने भएको छ ।

लालबन्दी नगरपालिका– ८ मा छ करोडको लागतमा र वडा नम्बर ४ मा रु पाँच करोडको लागतमा यस्ता भवन निर्माण हुने भएका छन् भने हरिवन नगरपालिका– १ मा रु दुई करोड ५० लाखको लागतमा भवन निर्माण हुन लागेको नेकपा सर्लाहीका इञ्चार्ज तथा केन्द्रीय सदस्य वाग्लेले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *