शेयर बजार कारोबारमा नयाँ रेकर्ड, एकैदिन ६ अर्व बढिको कारोबार

डिसी नेपाल
४ मंसिर २०७७ १५:४७

काठमाडौं। नेपाली शेयर बजारमा विहीबार ६ अर्व रुपैयाँ भन्दा बढिको कारोबार भएको छ। यो नेपाली शेयर बजारमा एकैदिन कारोबार भएको रकमको ऐतिहासिक रेकर्ड हो।

यसअघि गत फागुनमा एकैदिन ४ अर्व ८५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

विहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३६.३२ अंकले बृद्धि हुँदा बजारमा १९८ कम्पनीका १ करोड ४० लाख कित्ता शेयर किनेबेचबाट ६ अर्व ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

विहीबार बजार खुलेदेखि नै नेप्से बढ्न सुरु गरेको थियो। अन्तिम समयसम्ममा नेप्से सूचक १७७८.१२ अंकमा पुगेको छ।

नेप्सैसँगै सम्पूर्ण समूहगत परिसूचक पनि सकारात्मक देखिएको छ। सबैभन्दा बढि निर्जीवन जीवन बिमा समूह ३९९.१६ अंकले बृद्धि भएको छ।

कोभिड–१९ को महामारीका कारण लगानीका अन्य क्षेत्रहरु सुस्ताएपछि शेयर बजारमा लगानी बढेको अनुमान गरिएको छ।

घरजग्गा, आयात, निर्यातलगायतका क्षेत्रमा व्यवसायीहरु पनि आफुसँग भएको रकम शेयरमा लगानी गर्न थालेका छन्।

यसैगरी बजारमा कारोबार बढ्नुमा अर्को कारण बैंक तथा वित्तीय संस्थाको व्याजदरलाई मानिएको छ। बैंक तथा वित्तीय संस्थामा तरलता उच्च भई व्याजदर घटेपछि पनि लगानीकर्ताहरुले ऋण लिएर शेयरमा लगानी बढाउन थालेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *