अफगानिस्तान नजिकै पाकिस्तानमा भगवान विष्णुको १ हजार ३ सय वर्ष पुरानो मन्दिर भेटियो

डिसी नेपाल
६ मंसिर २०७७ १२:४५
492
Shares

काठमाडौं। पूरै मुस्लिम बाहुल्य रहेको पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रमा भगवान विष्णुको १ हजार ३ सय वर्ष पुरानो मन्दिर भेटिएको छ । पाकिस्तानी र इटालियन पुरातत्वविदहरुले फेला पारेको यो मन्दिर उत्तर पश्चिमी पाकिस्तानको स्वात जिल्लाको एक पहाडमा अवस्थित छ । एनडीटीभीमा प्रकाशित समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इण्डियाको रिपोर्टअनुसार बारिकोट गुण्डाइमा भइरहेको उत्खननको क्रममा यो मन्दिर पत्ता लागेको हो ।

बिहीबार यो खोजको घोषणा गर्दै खैबर पख्तुनख्वा पुरातत्व विभागका फजल खालिकले फेला परेको मन्दिर भगवान विष्णुको भएको बताए । उनका अनुसार यो मन्दिर १३०० वर्ष पहिले हिन्दू शाहीकालमा हिन्दुहरुले निर्माण गरेका हुन् । हिन्दू शाही वा काबुल शाही भनिने हिन्दू शासकले यहाँ ८५० देखि १०२६ सालसम्म शासन गरेका थिए । यी हिन्दू शासकले काबुल उपत्यका (पूवी अफगानिस्तान) गान्धारा (अहिलेको पाकिस्तान अफगानिस्तान) र अहिलेको उत्तरु पश्चिमी भारतसम्म शासन गरेका थिए ।

उत्खननका क्रममा पुरातत्वविदहरुले मन्दिरनजिकै सैन्य शिविर र वाच टावरका अवशेष पनि फेला पारेका छन् । विशेषज्ञहरुले मन्दिर नजिकै पानीको टंकी पनि फेला पारेका छन् जुन टंकी मन्दिरमा पूजा गर्नुअघि नुहाउनको लागि प्रयोग गरिने विश्वास गरिएको छ । फजल खालिकले स्वात जिल्ला हजारौं वर्ष पुराना पुरातात्विक धरोहरहरु भएको स्थान भएको बताउँदै यो क्षेत्रमा हिन्दू शाही कालका अवशेषहरु भने पहिलो पटक फेला परेको बताए । इटलियन पुरातात्विक मिशनका प्रमुख डा. लुकाले स्वात जिल्लामा भेटिएको यो मन्दिर गान्धारा सभ्यताको पहिलो मन्दिर भएको बताए । स्वात जिल्लामा बुद्ध धर्मका कैयौं पवित्र स्थलहरु पनि भेटिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.