डाक्टरसमेत रहेकी हजुरआमाको गल्तीले १० महिने नातिनीको निसास्सिएर मृत्यु

डिसी नेपाल
५ भदौ २०८३ १४:२४

काठमाडौं । अमेरिकाको केन्टकी राज्यमा तातो कारभित्र निस्सासिएर १० महिनाकी बालिकाको मृत्यु भएको छ। मृत बालिकाको पहिचान स्कटी ग्विन क्रोवेलका रूपमा खुल्न आएको छ। उनकी ६१ वर्षीया हजुरआमा डा. स्टेसी फेजेनबेकरले उनलाई डेकेयरमा छोड्नुपर्ने भए पनि कारमै भुलेर आफ्ना क्लिनिक गएको बताइएको छ।

उक्त घटना गत अगस्ट १३ तारिखमा म्याडिसनभिल्ले सहरमा घटेको हो। प्रहरीका अनुसार डा. फेजेनबेकरले बिहान आफ्नी नातिनीलाई डेकेयर पुर्‍याउने जिम्मा लिएकी थिइन्। त्यसपछि उनी सीधै आफ्नो मेडिकल क्लिनिकतर्फ लागिन् भने बालिका कारको पछाडिको सिटमै सुरक्षित पेटीमा बाँधिएको अवस्थामा रहिन्।

घटनाको करिब आठ घण्टापछि अर्थात् अपराह्न ४ बजे बालिकाका बुबा उनलाई लिन डेकेयर पुगेका थिए। त्यहाँका कर्मचारीहरूले ती बालिकालाई त्यो दिन बिहान डेकेयरमा नछोडिएको जानकारी गराएपछि मात्र परिवारले बालिका कारभित्रै छुटेको पत्ता लगाएका थिए।

प्रहरीका अनुसार यस विषयमा जानकारी पाउनासाथ हजुरआमा केही कर्मचारीसहित दगुर्दै कार भएको ठाउँमा पुगिन् र बालिकालाई बाहिर निकालिन्। तर, तबसम्म धेरै ढिला भइसकेको थियो। प्रहरी अधिकारीहरूले बालिकालाई बचाउने प्रयास गरे पनि उनको ज्यान बचाउन सकिएन।

घटना भएको दिन त्यहाँको बाह्य तापमान करिब ३५ डिग्री सेल्सियस रहेको थियो। रिपोर्टहरूका अनुसार बन्द कारभित्रको तापक्रम बढेर करिब ४६ डिग्री सेल्सियससम्म पुगेको थियो। भीषण गर्मीमा घण्टौँसम्म बन्द कारभित्र रहँदा बालिकाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बन्न पुग्यो।

म्याडिसनभिल्ले प्रहरीका मेजर जेसन म्याकनाइटले घटनाको अनुसन्धान जारी रहेको बताएका छन्। प्रहरीले डा. फेजेनबेकरको लागुऔषध तथा मदिरा परीक्षण (ड्रग्स एन्ड अल्कोहल टेस्ट) समेत गराएको छ, यद्यपि उक्त परीक्षणको रिपोर्ट पोजेटिभ आउने सम्भावना नरहेको अधिकारीहरूको भनाइ छ।

हालसम्म प्रहरीले कुनै पनि औपचारिक अभियोग दर्ता भने गरेको छैन, तर अनुसन्धान पूरा भएपछि यो मामिला ग्रान्ड जुरीसमक्ष पेस गरिन सक्नेछ। बालिकाको मृत्युको आधिकारिक कारण पत्ता लगाउन पोस्टमार्टम (शवपरीक्षण) समेत गरिनेछ।

रिपोर्ट अनुसार डा. फेजेनबेकर आफ्नी छोरीसँग बस्नका लागि करिब एक वर्षअघि म्याडिसनभिल्ले आएकी थिइन्। ती बालिकाको जन्म सन् २०२५ को सेप्टेम्बर २० मा ‘आइभीएफ’ प्रविधिमार्फत भएको थियो। परिवारले सामाजिक सञ्जालमार्फत मृत बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्, “हामी तिमीलाई धेरै माया गर्छौँ, हमारी प्यारी नानी।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *