चितवन घटनालाई लिएर माधव नेपालपछि झलनाथको वक्तव्य

डिसी नेपाल
६ मंसिर २०७७ १८:२४

काठमाडौं। शनिबार चितवनको राप्ती नगरपालिकामा नेकपा स्थायी कमिटी सदस्य तथा सांसद सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा नेकपाकै युवा नेताहरुले नारावाजी गरेको विषयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपालपछि अर्का वरिष्ठ नेता झलनाथ खनालले वक्तव्य जारी गर्दै आपत्ति प्रकट गरेका छन्।

नेता खनालले चितवनमा भएको घटना सुनियोजित भन्दै यो घटनाले गम्भीर बनाएको टिप्पणी गरेका छन्। उनले घटनाको भत्र्सना गर्दै दोषीमाथि कारबाही गर्नसमेत माग गरेका छन्। नेता खनालले नेता तथा कार्यकर्ताहरुलाई उत्तेजित नहुन समेत आग्रह गरेका छन्।

खनालको वक्तव्यः

विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा रहनुभएका पार्टि स्थायी कमिटी सदस्य, पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य क सुरेन्द्र पाण्डे आज राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको छ।
कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैह्र जिम्मेवारपुर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु।
कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणबसमेत गराउँछु।
पार्टीमा आन्तरिक विवाद उत्कर्शमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता तथा कार्यकर्तालाई विनम्र अनुरोध छ ।
झलनाथ खनाल
वरिष्ठ नेता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *