टेलिभिजन रियालिटी शोको ‘टास्क’ पूरा गरेपछि प्रतियोगीको मृत्यु

डिसी नेपाल
७ मंसिर २०७७ १३:४८

काठमाडौं। टेलिभिजन रियालिटी शोको टास्क पूरा गरेपछि एक प्रतियोगीको मृत्यु भएको छ । अमेरिकी टेलिभिजन गेम शो ‘वाइपआउट’को ‘अब्स्ट्याकल कोर्स’ पूरा गरेपछि प्रतियोगीको मृत्यु भएको अधिकारीहरु र शो निर्माण टिम स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले जनाएको छ । २००८ देखि २०१४ सम्म एबीसी टेलिभिजनबाट प्रसारण भएको यो रियालिटी शो २०२० मा टिबीएस टेलिभिजनबाट प्रसारण हुनेछ ।

करिब ३० वर्ष उमेरका ती पुरुष प्रतियोगिलाई बिहीबार बेलुकी ७ बजेतिर अस्पतालमा मृत घोषित गरिएको लस एन्जल्स काउन्टी कर्नरकी प्रवक्ता सारा अर्डालानीले जानकारी दिइन् । मृत्युको कारण सार्वजनिक गरिएको छैन । शो निर्माण टिकसँग निकट २ जनाले बताएअनुसार ती प्रतियोगीले शोको क्यालिफोर्नियाको सान्ता क्लारिटामा रहेको सेटमा कोर्स पूरा गरेका थिए । लगत्तै उनलाई मेडिकल सहायताको आवश्यकता परेको थियो ।

टिमले बिहीबार र शुक्रबार शोको उत्पादन बन्द गरेको र एक हप्ताको लागि कुनै नयाँ एपिसोड प्रसारण नगर्ने तयारी गरेको बताइएको छ । यो शोका प्रतियोगीले प्रतिस्पर्धामा भाग लिनुअघि मेडिकल जाँच गरिन्छ । ‘हामी उनको मृत्युको खबरले दुःखी छौं र उनको परिवारप्रति समवेदना व्यक्त गर्दछौं’ टिबीएसले एक वक्तव्यमा भनेको छ । टिबीएसले अप्रिलमा यो शो फेरि सुरु हुने घोषणा गरेको थियो । यसका होस्ट रेस्लर जोन सिना र निकोल बेयर हुने भनिएको थियो । यसको प्रिमियरको मिति भने सार्वजनिक गरिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *