प्रचण्डको राजनीतिक प्रतिवेदन ‘पुस्तक’ बनाइ कार्यकर्तामा वितरण गरेपछि नेकपामा तरंग

डिसी नेपाल
९ मंसिर २०७७ ११:०१

काठमाडौं। सचिवालयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली समूहले दवाब दिइरहेका बेला प्रतिवेदन प्रकाशित गर्दै कार्यकर्तामा वितरण गर्न थालिएको छ।

प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र यसअघि पाँच जना सचिवलाय सदस्यले बैठक बोलाउन प्रधानमन्त्रीलाई लेखेको पत्र समेटेर ३२ पृष्ठ भएको पुस्तक प्रकाशित गरिएको छ। प्रचण्ड–माधव नेपाल समूहले पुस्कत प्रकाशित गर्दै कार्यकर्तामा वितरण गरिएको हो।

‘पार्टी एकता र पार्टी निर्माणका आधार’ नाम दिइएको उक्त पुस्तकमा प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन प्रकाशित गरिएको छ। केन्द्रमा विवाद मिलाउन पहल भइरहेका बेला विवाद विवादलाई तल्लो तहमा पुर्याउने काम गरेको भन्दै प्रधानमन्त्री ओली पक्षधरले आपत्ति जनाएको छ।

‘सचिवालयमा पेश भएको प्रतिवेदन उत्तिनै बेला मेची–महाकालीका संचारमाध्यममा चुहाइएको थियो। अहिले त झन पुस्तक प्रकाशन गरेरै तल्लो तहका कार्यकर्तासम्म वितरण गरेर पार्टीको विवादलाई संस्थागत गर्ने काम गरियो,’ प्रधानमन्त्री ओली निकट एक नेताले भने, ‘यसबाट उहाँहरुको –प्रचण्ड–नेपाल समूह) नियत प्रस्ट हुन्छ।’

प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई लक्षित गर्दै विभिन्न आरोपसहितको प्रतिवेदन पेश गरेका थिए। प्रचण्डको प्रतिवेदनलाई पुस्तकको रुपमा प्रकाशित गरी कार्यकर्तामा वितरण गर्न भन्दै पुस्तक वरिष्ठ नेता माधव नेपाल। झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको घर घरमा पुर्याइएको छ।

नेकपा सचिवालय बैठक यही मंसिर १३ गते बस्दैछ। बैठक बस्नु अगाडि नै प्रचण्डलाई प्रतिवेदन फिर्ता लिन लगाउने प्रयास भइरहेका बेला प्रतिवेदनलाई पुस्तकका रुपमा प्रकाशित गरी कार्यकर्तामा वितरण गर्न थालिएपछि नेकपाभित्रको विवाद झन बढ्ने देखिएको छ।

१३ गते बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रचण्डको प्रतिवेदनको लिखित जवाफ दिने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *