आन्दोलनको मोर्चा कस्दै दुर्गा प्रसाईँ: राजसंस्था र हिन्दु राष्ट्र पुनर्बहालीका लागि व्यवस्था नै ढाल्ने चेतावनी
दुर्गा प्रसाईँद्वारा व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलनको घोषणा: हिन्दु अधिराज्य र राजसंस्था पुनर्बहाली मुख्य एजेन्डा
काठमाडौं। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलन चर्काउने घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमार्फत उनले लोकतान्त्रिक भनिने वर्तमान व्यवस्थामा नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोसिएको र विचारको स्वतन्त्रता मानिने लोकतन्त्रमै नागरिकका आधारभूत अधिकारसमेत पूर्ण रूपमा कुण्ठित भएको दाबी गर्दै आन्दोलनको विकल्प नभएको बताएका हुन्।
यसअघि पनि बैंक तथा वित्तीय संस्था र लघुवित्तको ज्यादतीविरुद्ध भन्दै सडक प्रदर्शन गर्दै आएका प्रसाईँले यसपटक भने सिङ्गो व्यवस्था परिवर्तनलाई नै आफ्नो मुख्य केन्द्रबिन्दु बनाएका छन्।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उपदेशलाई स्मरण गर्दै प्रसाईँले नेपाल सबै जातजाति र वर्गको साझा फूलबारी भएको बताए। उनले वर्तमान सरकार र सत्तापक्षीय नेताहरूले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति गर्दै जनतालाई भ्रममा पार्ने प्रपञ्च रचिरहेको गम्भीर आरोप लगाए।
आफूहरूले गर्न लागेको आन्दोलन कुनै धर्म, सम्प्रदाय वा समुदाय विशेषको विरुद्धमा नभई देशलाई अनिर्णयको बन्दी बनाउने सिङ्गो व्यवस्था परिवर्तनका लागि भएको उनले प्रस्ट पारेका छन्।
पूर्ववर्ती सरकार र विभिन्न समयमा भएका सम्झौताहरूको प्रसङ्ग जोड्दै प्रसाईँले किरात र बौद्ध धर्मसहितको वैदिक सनातन हिन्दु अधिराज्य स्थापना र राजसंस्थाको स-सम्मान पुनर्बहाली नै आफ्नो अभियानको प्रमुख एजेन्डा रहेको दोहोर्याए।
संविधान संशोधन गरी उच्चस्तरीय कार्यदल मार्फत आफ्ना मागहरू तत्काल सम्बोधन नगरिए वर्तमान व्यवस्था नै ढाल्ने कडा चेतावनीसमेत प्रसाईँले दिएका छन्। देशको आर्थिक तथा राजनीतिक अवस्था खस्कँदै गएको सन्दर्भ जोड्दै उनले राष्ट्रको गुम्दै गएको अस्तित्व जोगाउन आह्वान गरेका छन्।
हिन्दु राष्ट्र पुनर्बहाली र नागरिकका अधिकार सुनिश्चित गर्ने यस निर्णायक अभियानमा एकताबद्ध भएर उभिन उनले नेपालका सम्पूर्ण बुद्धिजीवी, पत्रकार, नागरिक समाज र आम सर्वसाधारणलाई विशेष अपिल गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment