सुनकोशीको फोक्सिङ्टारमा पुनः अस्थायी बेलिब्रिज जडान शुरु

डिसी नेपाल
११ मंसिर २०७७ ८:२०
76
Shares

खोटाङ । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङ्टारमा पुनः अस्थायी बेलिब्रिज जडानको काम शुरु गरिएको छ। दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको सिमाना फोक्सिङ्टारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडानको काम शुरु गरिएको हो।

फोक्सिङ्टारमा यही मङ्सिर तेस्रो साताभित्र यातायात पुनः सञ्चालन गर्ने गरी अस्थायी बेलिब्रिज जडानको काम भइरहेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इञ्जिनीयर गोपाल खकुरेलले बताए। इञ्जिनीयर खकुरेलका अनुसार बेलिब्रिज पुनः जडानका लागि दशैँतिहार अघि नै ठेक्का प्रक्रिया टुङ्ग्याइएकाले तिहारलगत्तै ठेकेदार कम्पनीले जडानको काम थालेको हो।

बेलिब्रिज जडान र खोल्नका लागि चालु आर्थिक वर्ष कार्यालयले रु ८४ लाख लागत मूल्यमा रेग्मी निर्माण सेवा गाईघाटलाई ठेक्का दिएको छ। बेलिब्रिज खोलेसँगै खोटाङ र उदयपुरको गाडी कोशीवारिको वारि नै र पारिको पारि नै रोकिएका छन्।

दिक्तेलबाट फोक्सिङ्टार पुगेका यात्रुलाई रसुवाघाटस्थित झोलुङ्गे पुल तर्नुपर्ने या डुङ्गाको सहारा लिएर वारपार गर्नुपर्ने बाध्यता छ । हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङटारमा विगत छ वर्षअघिदेखि हरेक वर्ष करिब ५० मिटर लम्बाइ भएको अस्थायी बेलिब्रिज सञ्चालन गर्ने गरिएको छ।

फोक्सिङटारमा अस्थायी बेलिब्रिज राख्ने र झिक्ने क्रममा वार्षिक रु ८० लाखको हाराहारीमा राज्यकोषको रकम खर्च हुँदै आएको छ । पूर्वी शहरबाट भित्रिने सिमेन्ट, रड, जस्तापाता, इँटालगायतका निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु सोही मार्ग भएर जिल्लाका लागि ढुवानी गर्ने गरिएको छ।

पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङ्टारमा पक्की पुल निर्माणको काम थालिए पनि अहिलेसम्म सम्पन्न भएको छैन । निर्माण सम्पन्न गर्ने समय सकिँदा पनि ठेकेदार कम्पनीको लापरवाहीले फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको पिलर मात्र तयार भएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *