भारतसँगका सबै विवाद वार्ताद्वारा समाधान गर्न चाहेको प्रधानमन्त्री ओलीको सन्देश

डिसी नेपाल
११ मंसिर २०७७ २०:३६

काठमाडौं। दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौं उत्रिएका भारतीय विदेश मन्त्रालयका सचिव हर्षवद्र्धन श्रृंगला दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्थ रहे। विहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको श्रृंगलाले विमानस्थलमै पत्रकारहरुसँग भ्रमणबारे छोटो कुराकानी गरे। नेपाली भाषामै बोलेका उनले आफ्नो भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास दिलाए।

त्यसपछि दिउँसो परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र उनका भारतीय समकक्षी श्रृंगलाबीच द्विपक्षीय वार्ता भयो। वार्तामा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव पौड्यालले गरेका थिए भने, ९ सदस्यीय भारतीय प्रतिनिधिमण्डलको नेतृत्व श्रृंगलाले गरेका थिए।

सो द्विपक्षी वार्ताका क्रममा भारत सीमा विवादका विषयमा वार्ता गर्न तयार जनाइएको अपुष्ट खवरहरु आएका छन्। नेपाल र भारतबीच नक्सा विवादका कारण आपसी सम्बन्धमा चिसोपना बढिरहेका बेला भारत सीमा विवादका विषयमा वार्ता गर्न तयार हुनुलाई नेपालको सफलता मान्न सकिने जानकारहरुले बताएका छन्।

द्विपक्षीय वार्तापछि श्रृंगलाले शिष्टाचार भेट शुरु गरेका थिए। उनले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरे भने त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे। ओलीसँगको शिष्टाचार भेटपछि श्रृंगलाले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। बुढानिलकण्ठमा सो शिष्टाचार भेट भएको हो।

नेपाल–भारत सम्बन्धमा उतारचढाव आइरहेका बेला भारतीय विदेश सचिवको यो भ्रमणलाई नेपाल र भारत दुबैले महत्वका साथ हेरेका छन्।

बिहीबार दिनभर भएका भेटमध्ये द्विपक्षीय वार्ता र प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटलाई महत्वका साथ हेरिएको छ। राष्ट्रिय समाचार समितिका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग श्रृंगलाले गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उक्त सन्देश पुर्याइदिन आग्रह गरेको राससले जनाएको छ।

भेटको शुरुमै सचिव श्रृङ्गलाले आफ्ना प्रधानमन्त्री मोदीको दुई देशबीचको आपसी सम्बन्धलाई ‘राम्रो’ बनाएर अगाडि लैजान चाहेको सन्देश प्रधानमन्त्रीलाई सुनाएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले राससलाई जानकारी दिएका छन्। दुवै देशका प्रधानमन्त्रिस्तरका सकारात्मक सन्देश आदानप्रदानले सीमा विवादलगायत विषयमा आगामी दिनमा वार्ता र छलफल तथा आपसी उच्चस्तरीय भ्रमणको आदानप्रदान हुने वातावरण सिर्जना भएको छ।

सल्लाहकार डा भट्टराईका अनुसार भेटमा प्रधानमन्त्री ओलीले भनेका थिए, “हामी दुई देशबीचको आपसी र बहुआयामिक सम्बन्धलाई एक्काइसौँ शताब्दीअनुकूल तथा युगसुहाउँदो हिसाबले थप गतिशील र सुमधुर बनाउन चाहन्छौँ। सीमालगायत विवादित विषयमा वार्ताका माध्यमबाट शान्तिपूर्णरुपमा समस्याको समाधान गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौँ। हाम्रा बीचका सीमा विवाद अहिले एकाएक सिर्जना भएका होइनन्। इतिहासले विरासतका रुपमा छाडेका समस्या हुन्। यसलाई थाँती राखेर जाँदा झन् समस्या आउन सक्छ, त्यसैले मिलेर समाधान गरौँ। यो सन्देश भारतीय प्रधानमन्त्री मोदीलाई लगिदिन म आग्रह गर्दछु।”

प्रधानमन्त्री ओलीले सचिव श्रृंगलासँगको भेटमा आपसी विवादका विषय समाधान भएपछि सम्बन्धमा नयाँ उचाइ प्राप्त हुने विश्वास व्यक्त गर्दै नेपालको भूभाग कुनै पनि छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल स्पष्ट रहेको अवगत गराएको राससले उल्लेख गरेको छ।

भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नयाँ राजनीतिक नक्शामा समावेश गरेपछि नेपालले आपत्ति जनाउँदै आफ्नो भूमिलाई समेटेर नयाँ नक्शा जारी गरी त्यसलाई सङ्घीय संसद्बाट पारित गरेर संविधानको अनुसूचीमा समावेश गरेको थियो। त्यसपछि दुई देशबीच औपचारिक वार्ता नभएका स्थितिमा पछिल्ला समयमा भारतीय पक्षबाट नेपालका भएका विभिन्न भ्रमण र भेटवार्ताले वातावरण थप सहज हुँदै गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *